शुक्रवार , फाल्गुण ८, २०८२
भैरहवा, ८ फागुन । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन सामान्य निर्वाचन नभएको बताउनुभएको छ । उहाँले यो निर्वाचन जनमत संग्रह भएको बताउनुभयो ।
प्रजातन्त्र दिवसको अवसरमा नेपाल मानव अधिकार संगठन जिल्ला शाखा, रुपन्देहीद्वारा भैरहवामा आयोजित लोकतन्त्र र भावी कार्यदिशा विषयक कार्यक्रममा मन्तव्य राख्नुहुँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भयरहित र त्रासरहित वातावरणमा जनताले मत हाल्न पाउनुपर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । ‘लोकतन्त्रमा निर्वाचन भनेको मुटुको धड्कन जस्तै हो । यो जनताको विवेकशक्तिको परीक्षणको बेला हो,’ उहाँले भन्नुभयो–‘लोकतन्त्रका चुनौतीहरु पहिला भन्दा बढेका छन् । यो चुनौतीलाई कसरी सामना गर्ने र नागरिकलाई कसरी अधिकारसम्पन्न बनाउने भन्ने चिन्ता बढेको छ ।’ उहाँले लोकतन्त्रका कारण मुलुकमा समस्या नआएको जिकिर गर्नुभयो । सुशासन कायम हुन सके मात्र मुलुक समृद्ध बन्ने उहाँको भनाइ छ ।
त्रिपाठीले यो मुलुक केही राजनीतिक दल, केही नेताको मात्र नभइ तीन करोड नेपाली जनताको भएको बताउनुभयो । ‘यो मुलुकको भाग्य र भविष्यमा हाम्रो स्वार्थ गासिएको छ, ’उहाँले भन्नुभयो–‘यदी हामी स्वतन्ता चाहन्छौ भने निरन्तर चनाखो हुनुपर्छ । हामी अधिकारप्रति सचेत रहेनौ भने हाम्रो स्वतन्त्रता, लोकतन्त्र र अधिकार जीवित रहदैन । लोकतन्त्र र स्वतन्त्रता सितैमा पाइने चीज होइन, यसका लागि निरन्तर लड्नुपर्छ ।’
जेनजी पुस्ताले उठाएको माग जायज भएको उहाँले बताउनुभयो । ‘बालबालिकाको उद्देश्य सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जलाउनु थिएन । किन जलाइयो ? सिंहदरबार भनेको एउटा मात्र होइन, यो राष्ट्रको एउटा प्रतीक हो । संसद् भवन लोकतन्त्रको मन्दिर हो, ’त्रिपाठीले भन्नुभयो ।
शिक्षित समाज आफै सिर्जित नहुने उहाँले बताउनुभयो । ‘जुन समाजमा लोकतन्त्र छैन त्यो समाज शिक्षित समाज हुन सक्दैन । लोकतन्त्रले नै मानिसलाई शिक्षाको अवसर प्रदान गर्छ । लोकतन्त्रलाई उत्तरदायी र जवाफदेहीतासँग जोड्नुपर्छ, ’उहाँले भन्नुभयो ।
त्यस्तै नेपाल मानव अधिकार संगठन जिल्ला शाखा, रुपन्देहीका अध्यक्ष प्राध्यापक सुदर्शन प्रसाद नेपालले लोकतन्त्रमा उत्तरादायी र जवाफदेही हुनु नै विधिको शासन भएको बताउनुभयो । उहाँले राजनीतिक दलमा इच्छाशक्ति हुनुपर्ने बताउनुभयो । ‘लोकतन्त्र हाम्रो उद्देश्यको सुन्दर पक्ष हो, ’उहाँले भन्नुभयो ।
अधिवक्ता शैलेन्द्र अम्बेडकरले सर्वोच्च अदालतको जलेको चित्र हेर्दा मन रोइरहेको बताउनुभयो । ‘लोकतन्त्रको सुन्दर पक्ष प्रतिपक्ष हो, ’उहाँले भन्नुभयो–‘जति मजबुत प्रतिपक्ष रहन्छ, त्यति मजबुत लोकतन्त्र रहन्छ ।’
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुल प्रसाद न्यौपोने नेपालको शत्रु गरीबी भएको बताउनुभयो । ‘मुलुकमा विकास गरेका भएको छ । तर, मुलुकमा ऋणको भार पनि थुप्रिएको छ । समृद्ध नेपाल बनाउने सरकारको एजेण्डा हुनुपर्छ ।’
कार्यक्रममा डा. शम्भु गुप्ता, इञ्जिनियर मधु गौतम, कुमुद त्रिपाठी, राजेश जि.सी. लगायतले बोल्दै लोकतन्त्रमा निर्वाचन अपरिहार्य रहेकोले सचेत भएर मतदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले राजनीतिक एजेण्डासँगै अब आर्थिक मुद्दामा बहस हुनुपर्नेमा जोड दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij