२०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

रुपन्देही–२ : राष्ट्रिय स्वाधिनताको पक्षमा उभिने विश्वदीपको प्रण

शुक्रवार , फाल्गुण ८, २०८२

  • 880
    Shares
  • 880
    Shares
  • बुटवल, ८ फागुन । रुपन्देही क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ ले राष्ट्रियता अफ्ठ्यारोमा परेको बेला सबै देशभक्त शक्ति एकजुट हुनुपर्ने बताउनुभएको छ । नागरिक मञ्च अभियान नेपालले बिहीबार बुटवलको ऐतिहासिक स्थल जितगढीमा आयोजना गरेकोे ‘आसन्न निर्वाचन र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले देशमा भएका परिवर्तन संस्थागत गर्न सबै देशभक्त एक हुनुपर्ने उल्लेख गर्नुभयो । पाण्डेले जितगढीको माटो मुठ्ठीमा लिएर राष्ट्रहित, राष्ट्रियता र स्वाधीनताको रक्षा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले आसन्न निर्वाचनलाई उत्सवका रुपमा लिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा सहभागी यस क्षेत्रका अन्य उम्मेदवार र नागरिक अगुवाहरुले पनि राष्ट्रिय स्वाधिनताको लडाईमा सबै एक हुनुपर्ने आवश्यकतामा जोड दिएका थिए ।
    नेकपा (माओवादी) का उम्मेदवार विरेन्द्र विकले प्रतिबन्धको समयदेखि नै पार्टीले राष्ट्रियता र स्वाधीनताको पक्षमा संघर्ष गर्दै आएको बताउनुभयो । उहाँले चुनावमा देशभक्ति र स्वाधीनताको पक्षमा बोल्ने उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो ।

    राष्ट्रिय जनमोर्चाका लिला बहादुर केसीले देशलाई संघीयतामा लैजाँदा स्वाधीनता कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउनुभयो । उहाँले यो निर्णायक घडीमा देशभक्तहरु एक ठाउँमा आउनुपर्ने उल्लेख गरे ।

    प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार नारायण नागिलाले अवधारणापत्रप्रति समर्थन जनाउँदै चुनाव जिते वा हारे पनि राष्ट्रियता र स्वाधीनताको लडाईमा अग्रपंक्तिमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    उज्यालो नेपाल पार्टीका ई. सुरज पाण्डेले स्वाधीनतालाई आफूहरुले खतरामा पार्ने कुनै कार्य नगर्ने स्पष्ट पार्नुभयो । स्वतन्त्र उम्मेदवार निकोलष भुसालले नेपाल स्वर्गको टुक्राजस्तो सुन्दर देश भएको उल्लेख गर्दै देश निर्माणका लागि सबै नागरिक एकजुट हुनुपर्ने बताउनुभयो । अभियानका अध्यक्ष पदम कार्कीले आसन्न निर्वाचनको सन्दर्भ र राष्ट्रिय स्वाधीनताको सवालबारे आफ्नो अवधारणा प्रस्तुत गरेका गर्नुभएको थियो । प्रस्तुत अवधारणामाथि नागरिक अगुवा एवं बुद्धिजीवीहरु दिल साहनी, रविन्द्रगोपाल लाकौल, देवेन्द्रराज शाक्य, विनबहादुर कुँवर, प्रेम सुवेदी, सरद ओली, समुन्द्र जीसी लगायतले पनि ऐक्यबद्धता जनाउँदै राष्ट्रियता कमजोर हुने कुनै पनि गतिविधिकोप्रतिवाद गर्ने धारणा राख्नुभएको थियो ।

    कार्यक्रम शिव डुम्रेको सञ्चालन तथा ज्ञानु केसीको स्वागतमा सम्पन्न भएको थियो ।