बिहिवार , फाल्गुण ७, २०८२
२०६१ सालमा कमला तिवारीको बिहे रुपन्देहीको शंकरनगरका मनिष पन्थसँग भयो । त्यतिबेला कमला २२ वर्ष पुगेकी थिइन् । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १० माइतीघर भएकी कमलाका आमा टीकादेवी र बाबा चोलाकान्त हुन् । ठूलो घरपरिवारकी जेठी छोरी कमलालाई माइतीघरको बोझ नहुने कुरै भएन । घरतिर आएपछि पनि जेठी बुहारी नै भइन् ।
कमलाले गाउँकै जनप्रिय माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी हुन् । पढाईबाहेक उनले अतिरिक्त क्रियाकलापमा समेत सक्रियता देखाउँथिइन् । हाजिरीजवाफ, वक्तृत्वकला, वादविवाद, हिज्जे, खेलकूद प्रतियोगिताहरुमा भाग लिएपछि कुनै न कुनै पुरस्कार हात पार्थिन् । सानैदेखि पढाई र अतिरिक्त क्रियाकलापमा तगडा कमलाले बुटवल बहुमुखी क्याम्पस, रुपन्देहीबाट २०७१ सालमा अंग्रेजी साहित्यमा स्नातकोत्तर गरिन् । नेपाल ल क्याम्पस, काठमाडौंबाट एलएलबी उत्तीर्ण गरिन् २०७५ सालमा । वकालत गर्ने प्रमाणपत्रधारी कमलाले फुर्सदको समयमा वकालतको काम समेत गर्छिन् । खासमा उनी फोटो तथा भिडियोग्राफर हुन् ।
२०७३ सालदेखि आफ्नै नाममा श्रीनगर फोटो स्टूडियो सञ्चालन गरी फोटो तथा भिडियोग्राफीको सेवा दिदै आएकी छिन् । इन्डोरमात्र होइन, बिहे, भोज, पूजा, ब्रतबन्ध तथा विविध सामाजिक एवम् साँस्कृतिक कार्यक्रमहरुमा आउटडोर फोटो तथा भिडियोग्राफी खिच्न पुग्छिन् कमला । त्यति मात्र होइन उनले फोटो तथा भिडियो इडिटीङ्गको काम समेत गर्छिन् । उनको फोटोग्राफी कलाले कैयौंपटक पुरस्कार सम्मान समेत प्राप्त गरेको छ । नेपाल फोटोग्राफर महासंघको केन्द्रीय संस्थापक सदस्य, लुम्बिनी फोटोग्राफर संघको आजीवन सदस्य तथा कानुनी सल्लाहकार समेत छिन् । विगत ६ वर्षदेखि श्री लिगल सर्भिस एण्ड रिसर्च सेन्टरमा पनि समाहित छिन् ।
महिला उद्यमशीलतामा जोड दिने कमलाले घरधन्दा,व्यवसाय र सामाजिक सेवामा समेत उत्तिकै समय दिएकी छिन् । ‘महिला पहिला’ बनाउने अभियानमा सक्रिय उनले महिला साक्षरता,कानुनी शिक्षा र सेवा दिदै आएकी छिन् । फुर्सदको समयमा अध्ययन गर्न रुचाउने उनले आफ्ना श्रीमानको फिल्मी क्षेत्रलाई समेत साथ, सहयोग र समर्थन गर्छिन् । श्रीमान मनीषसँगको वैवाहिक साथ,समर्थन र सहयोगबाट छोरा स्वभाव र छोरी स्पन्दनलाई सन्तानका रुपमा भेटेकी छिन् । छोरो स्पन्दनलाई विज्ञानतर्फ कक्षा ११ बुटवलमा र छोरीलाई फिल्मी विषयमा अध्ययन गर्न भारत पठाएकी छिन् ।
माइतीघरमा परिवार ठूलो, आम्दानीको बाटो साँघुरो भएकाले पनि सानै उमेरदेखि कमलाले कामको खोजी गरिन् । विभिन्न व्यापारिक संस्थानमा उनले पाँच वर्षजति मार्केटिङ्ग म्यानेजरको रुपमा काम गरिन् । काम गर्दै जीवनमा अध्ययनलाई अघि बढाइन् । आफ्नै पौरखमा हुर्किन् । दुःख के हो,संघर्ष के हो,पीडा के हो ? समाज के हो भन्ने कुरा उनलाई राम्रोसँग थाहा छ । हजार हण्डर खाएर पनि कमलाले आफ्नो जीवनलाई सुनजस्तै खारेकी छिन् ।
कमलालाई घरपरिवारबाट पनि सक्दो सहयोग मिलेकै कारण पढाइ र व्यवसाय सञ्चालनमा सहजता मिलेको छ । बुटवलमा रहेको श्रीनगर फोटो स्टूडियोमा उनले नियमित दुई जना र मौसमी सहयोगी कामदारका रुपमा पाँचजनालाईसम्म रोजगार दिन्छिन्। बिहे, भोज र पूजाआजा खिच्नका लागि मौसमी सहयोगी कामदार खोज्ने गर्छिन् । व्यवसायमा उनको प्रत्यक्ष निगरानी र संलग्नता रहेकै कारण सफलतान्मुख छ । स्टूडियोबाट आएको आम्दानीले घरभाडा, कर्मचारी तलब, छोराछोरीको पढाई, खानपिन, औषधोपचार गरेकी छिन् । व्यसायले उनलाई आर्थिक लाभ दिएको छ । वकालतले उनलाई प्रतिष्ठा थपेको छ । भविष्यमा आफ्नो स्टूडियोमार्फत धेरैलाई फोटो तथा भिडियोग्राफी सम्बन्धि तालिम र रोजगारी दिने उनको योजना छ । सफल र अब्बल व्यवसायी बन्ने उनको सपना छ ।
समन्वय, सहकार्यमा क्षमतावान कमला, निडर र प्रतिभाशाली छिन् । तार्किक क्षमताले धेरैलाई प्रभाव पार्ने गर्छिन् । कमलाले आफ्नो शैक्षिक तथा व्यवसायिक अहमतालाई दबाउने गर्छिन् । आफुलाई अब्बल बनाउने अभियानमा सधैं सक्रिय छिन् । समयको गतिसँगै आफ्नो व्यवसायलाई परिमार्जन र आफूलाई प्रविधिमैत्री बनाउँदै लगेकी छिन् कमलाले । कमलाको हिम्मत, आँट र साहसको जति तारिफ गरे पनि कमै हुने गर्छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij