२०८२, फाल्गुण ७ गते

Feb 19 2026 | २०८२, फाल्गुण ७ गते

जनताको समस्या सुन्दै घरदैलोमै केन्द्रित चुन्नप्रसाद

बिहिवार , फाल्गुण ७, २०८२

  • 157
    Shares
  • 157
    Shares
  • बुटवल । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै घरदैलोमा पुग्नु भएका उम्मेदवारलाई जनताले आफ्ना साना–साना समस्याहरु सुनाएका छन् । उनीहरुले आफ्नो टोलको बाटोघाटो,टोलमा बत्ति, सरसफाइ, रोजगारी सिर्जना, सुकुम्बासी समस्या समाधान लगायतका समस्याहरु समाधानको प्रतिबद्धता खोजेका छन् ।

    नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल र समानुपातिक उम्मेदवार रिता सेन ओली यतिबेला टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहनु भएको छ । 

    अभियानको चौथो दिन बिहिबार सैनामैना नगरपालिका वडा नम्बर ४ र २ का विभिन्न टोलमा घरदैलो कार्यक्रमका क्रममा जनताले गुनासो सुनाउदै समस्याहरुको समाधान गर्न आग्रह गरेका हुन् । घरदैलो अभियान पहिलो चरणमा मुर्गिया बजारबाट सुरु भएको थियो । त्यहाँबाट पुकारबाल्टी हुँदै अस्नैयाडाँडा, राधाकृष्ण टोल, प्रगति टोल, शान्तिटोल, सिसौडाँडा, रन्यौरा, झारबैरा हुँदै लुम्बिनी रोड र नापी क्षेत्रसम्म पुगिएको थियो । त्यसैगरी घरदैलोका क्रममा स्थानीय बासिन्दाले आफ्ना विभिन्न समस्या उम्मेदवारसमक्ष राखेका थिए । 

    स्थानीयले आफ्नो क्षेत्रमा नापी भएर पनि सुकुम्बासी समस्या समाधान नभएको, लालपुर्जा हातमा भएकाहरुको पनि जग्गासम्बन्धी झन्झट कायम हुँदा समस्या बेर्हाेनुपरेको गुनासो सुनाउनुभयो । 

    कतिपय स्थानमा बाटोघाटो समयमै निर्माण नभएको र सैनामैनाको मूल समस्या सुकुम्बासी समस्या सम्बन्धि रहेको स्थानीयको भनाइ छ । त्यस्तै, वडा नम्बर २ अन्तर्गत झारबैरा, खकनपुर, कालिका टोल, सोरौली हुँदै रानीबगियासम्म पुग्दा मतदाताले शैक्षिक स्तर सुधार, सुकौली खोलाको तटबन्ध निर्माण, समयमै सडक पिच नहुनु, ढल निकासको समस्या लगायतका विषय उठाएका थिए । उनीहरुले यसअघि निर्वाचित सांसद तथा जनप्रतिनिधिले आफुहरुका गुनासा र समस्याहरु समाधान गर्न नसकेको बताएका थिए । 

    कांग्रेस उम्मेदवारहरूले रुपन्देही क्षेत्र नम्बर २ मा घरदैलो अभियानलाई तीव्र बनाएका छन् । उम्मेदवार पौडेलले घरदैलोका क्रममा आफू निर्वाचित भएपछि स्थानीयस्तरका यस्ता समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाली कांग्रेस नेतृत्वमै स्थायित्व र विकास सम्भव रहेको विश्वास व्यक्त गर्दै प्रत्येक टोल–टोलका समस्या पहिचान गरी योजनाबद्ध ढंगले काम गर्ने बताउनु भयो ।

    पौडेलले ५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने संकल्प समेत जनताका बिचमा गर्नुभयो । उहाँले यो प्रतिज्ञा पूरा गर्न कांग्रेसले के–के गर्ने भन्ने बिषय घोषणापत्रमा उल्लेख गरिएको पनि बताउनु भयो । उहाँले जनताको समस्या नै हाम्रो पहिलो प्राथमिकता रहेको बताउदै सैनामैनामा देखिएका सुकुम्बासी, सडक, शिक्षा र तटबन्ध जस्ता विषयलाई योजनाबद्ध रूपमा अघि बढाउनेछौं उहाँले भन्नुभयो ।

    cong (2).jpeg

    समानुपातिक उम्मेदवार रिता सेन ओलीले महिला, बालबालिका र सीमान्तकृत समुदायका मुद्दालाई संसदसम्म पुर्याउने बताउनुभयो । ‘शिक्षा, पूर्वाधार र सुकुम्बासी समस्यामा हामी गम्भीर छौं, जनताको साथमै रहेर काम गर्नेछौं ।’ यसअघि हिजो बुटवल उपमहानगरपालिका वडा नम्बर ७ र वडा नम्बर १ मा पनि घरदैलो कार्यक्रम गरिएको थियो । 

    त्यहाँ पनि स्थानीयसँग भेटघाट गरी विकास, रोजगारी, सडक र ढल निकास लगायतका विषयमा सुझाव तथा गुनासा संकलन गरिएको थियो । घरदैलो कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । शुक्रबार तिलोत्तमा वडा न ५ र वडा न ६ मा घरदैलो गर्ने नेपाली कांग्रेस रुपन्देही क्षेत्र न २ का निर्वाचन परिचालन मूल समितिका संयोजक तथा क्षेत्रीय सभापति प्रजापाल गिरिले जानकारी दिनुभयो ।