बिहिवार , फाल्गुण ७, २०८२
भैरहवा, ७ फागुन । नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार सुशील गुरुङ्गले मतदाताको शिर झुक्न नदिने बताउनुभएको छ । उहाँले आम जनताको भावनामा चोट पुग्ने कुनै काम नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
सिद्धार्थनगर नगरपालिका–१२ स्थित जनकपथमा घरदैलो कार्यक्रममा कार्यक्रममा उहाँले मतदाताहरुसँग यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । ‘मलाई मतदाताले जुन विश्वास गर्नुभएको छ, मैले उहाँहरुको शिरलाई झुक्न दिने छैन । विश्वास कायम गर्नेछु, तोड्ने छैन, ’गुरुङ्गले भन्नुभयो । रुपन्देही क्षेत्र नम्बर ३ मा स्थानीय एजेण्डालाई राष्ट्रिकरण कसरी गर्न सकिन्छ भन्नेतर्फ लागिरहेका उहाँको भनाइ छ ।
गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल नियमित सञ्चालन, एकीकृत भन्सार जाँच चौकी (आईसीपी), विशेष आर्थिक क्षेत्र (सेज), किसानलाई समयमै मल, बिउबिजन, सिंचाईको व्यवस्था जस्ता जनताको आवश्यकताहरुलाई एजेण्डाका रुपमा लिएर अघि बढेको उहाँले बताउनुभयो ।
रुपन्देही क्षेत्र नम्बर ३ रुपन्देहीको गहना मात्र नभइ लुम्बिनी प्रदेशको प्रभावशाली क्षेत्र हो । ‘यहाँ उद्यमशीलताको विकास, बढी भन्दा बढी रोजगारी सिर्जना गर्र्नुका साथै निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्छौं । उद्योगी, व्यवसायी, किसान, सबैलाई समेटेर अघि बढ्छौं, ’उहाँले भन्नुभयो ।
लगानीमैत्री वातावरण सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास, स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने बेलहिया नाकालाई व्यवस्थित बनाउन तथा जनताको समस्या समाधानका लागि संसद्मा जोडदार रुपमा उठाउने उहाँले बताउनुभयो । स्थानीय मुद्दालाई राष्ट्रियकरण गर्न लागिपरेको उहाँले बताउनुभयो । तालिका बनाएर क्षेत्र नम्बर ३ का ३६ वटै वडामा जनताको घरदैलोमा पुग्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
‘नेपाली जनतामा आशा र विश्वास जोगाउन लागिपरेका छौं । नेपाली काँग्रेसप्रति विश्वास बढेको पाएको छु । काँग्रेस बदलिएर जनतामाझ आएको छ छु । म स्वयं परिचित र स्थानीय उम्मेदवार हुँ । विजयी भएको अवस्थामा लोकतन्त्रको पवित्र मन्दिर प्रतिनिधि सभामा यहाँका आवाजलाई आफ्नो आवाज र पीडा ठानेर आवाज बुलन्द गर्नेछु, विश्वासघात गर्नेछैन, ’उहाँले भन्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij