बिहिवार , फाल्गुण ७, २०८२
काठमाडौं,७ फागुन । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वस्थ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताउनुभएको छ ।
प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री कार्कीले वि.सं. २०१५ साल फागुन ७ गतेदेखि शुरु भएको नेपालको निर्वाचन इतिहासको स्मरण गर्नुभयो । निर्वाचनलाई स्वस्थ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गरी मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उघार्ने प्रयत्नमा सरकारले सम्पूर्ण शक्ति लगाएको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री कार्कीले तोकिएकै मितिमा भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको दाबी गर्नुभयो । उहाँले निर्वाचनबाट आउने संसद र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली र सामाजिक न्यायसहितको समृद्धिका लागि सबैलाई एकजुट हुन अपील गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको निर्वाचन इतिहासमा वि.सं. २०१५ साल फागुन ७ गतेदेखि पहिलो प्रजातान्त्रिक निर्वाचन सुचारु भएको ऐतिहासिक तथ्य हामीमा छ । तसर्थ आज प्रजातन्त्र दिवस मात्र होइन निर्वाचन दिवस पनि हो । संयोगवश यस वर्ष पनि यसै फागुन महिनाको २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुन गइरहेको छ ।
यस निर्वाचनलाई स्वस्थ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गरी मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उघार्ने प्रयत्नमा हामीले पूरै ऊर्जा लगाएका छौं ।
तोकिएकै मितिमा भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको छ । यस निर्वाचनबाट आउने संसद र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास लिएको छु । अन्त्यमा यस दिवसले हामीलाई संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न प्रेरित गरोस् ।
हाम्रो राष्ट्र सबै नागरिकका लागि समान अवसर र सम्मानको साझा घर बनोस् । लोकतन्त्रका लागि जीवन अर्पण गर्ने महान शहीदहरूप्रति पुनः हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । बुद्धिजीवी, नागरिक समाज, जेन्जी युवा र सम्पूर्ण प्रजातन्त्र प्रेमी नागरिकप्रति सम्मान प्रकट गर्दछु ।
विभिन्न आन्दोलनका ती वीर योद्धाहरूले देख्नुभएको समुन्नत र न्यायपूर्ण नेपालको सपना साकार पार्नका निम्ति हातेमालो गरी हामी एकजुट हुन अपील पनि गर्दछु ।’
प्रधानमन्त्री कार्कीले बुद्धिजीवी, नागरिक समाज, जेन—जी युवा र सम्पूर्ण प्रजातन्त्र प्रेमी नागरिकप्रति सम्मान प्रकट गर्दै वीर योद्धाहरूले देख्नुभएको समुन्नत र न्यायपूर्ण नेपालको सपना साकार पार्न हातेमालो गर्न सबैमा आह्वान गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij