२०८२, फाल्गुण ७ गते

Feb 19 2026 | २०८२, फाल्गुण ७ गते

वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्त क्रिमसनमा

बिहिवार , फाल्गुण ७, २०८२

  • 382
    Shares
  • 382
    Shares
  • भैरहवा, ७ फागुन । अन्नपूर्ण न्यूरो अस्पताल, काठमाडौंका संस्थापक तथा वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तले क्रिमसन अस्पतालमा बिरामीहरुको स्वास्थ्य परीक्षण गर्ने हुनुभएको छ । 
    नशा तथा मष्तिष्क सम्बन्धी जटिल समस्याका बिरामीको उपचार तथा शल्यक्रियाको लागि नेपालका प्रख्यात न्यूरो बिशेषज्ञ डा.पन्तसमेतको टीमले यही फागुन ७ गते बिहीबारदेखि ९ गते शनिबारसम्म क्रिमसन अस्पतालमा स्वास्थ्य सेवा उपलब्ध गराउने भएको हो । 

    क्रिमसन अस्पतालले न्यूरो सेवाको लागि अन्नपूर्ण अस्पतालसँग सम्झौता गरेपछि न्यूरो विशेषज्ञ डा.समृद्ध मल्लले मणिग्रामस्थित अस्पतालबाट नियमित चेकजाँच गरिरहनुभएको छ । 
    यस क्षेत्रका बिरामीको उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटाउन अन्नपूर्ण न्यूरो अस्पताल काठमाण्डौंमा उपलब्ध गराउने सेवा स्थानीयस्तरमै उपलब्ध हुन सकोस् भनेर सम्झौता गरिएको क्रिमसन अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

    दुर्घटना वा अन्य मष्तिष्कसम्बन्धी गम्भीर समस्याको लागि अहिले यस क्षेत्रका बिरामीहरुको अव क्रिमसन अस्पतालमै उपचार हुन थालेको छ । जटिल अवस्थाको बिरामीको शल्यक्रिया गर्नुपर्ने डा.बसन्त पन्तनै क्रिमसनमा आउने गरी सम्झौता गरिएको छ । जसले गर्दा बिरामीलाई हेलिकोप्टर वा अन्य माध्यमबाट काठमाण्डौं लैजानुपर्ने बाध्यता हट्नेछ । 

    क्रिमसन अस्पतालमा न्युरो सेवासहित हाडजोर्नी तथा नशारोग विशेषज्ञ, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी, जनरल फिजिसियन, नाक, कान, घाँटीरोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ, छाती तथा फोक्सो रोग विशेषज्ञ, छाला तथा यौनरोग विशेषज्ञ लगायतका सेवा उपलब्ध छन् । त्यसै गरी रेडियोलोजिष्ट, स्त्री तथा प्रसुती रोग विशेषज्ञ, एनेस्थेसिया तथा सघन उपचार बिशेषज्ञ, बालरोग विशेषज्ञ, नशा तथा मनोरोग बिशेषज्ञ, मृगौलारोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, प्याथोलोजी फिजियोथेरापी सेवा पनि अस्पतालले दिदै आएको छ । 

    अस्पतालमा भारतीय सेनाबाट अवकाश पाएका परिवार, सामाजिक सुरक्षा कोष र कर्मचारी संचयकोषका संचयकर्ता तथा गोर्खा वेलफेयरका सदस्यहरुलाई निःशुल्क उपचार हुने गरेको छ ।

    त्यसै गरी नेपाल सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत निःशुल्क प्रसुति सेवा, डायलाइसिस सेवा र मुटु उपचार सेवा पनि उपलब्ध रहेको छ । अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष, क्रिटिकल केयर युनिट आइसीयु, सीसीयु, एनआइसियुलगायतका अत्याधुनिक प्रविधि पनि अस्पतालमा उपलब्ध छन् ।