२०८२, फाल्गुण ६ गते

Feb 18 2026 | २०८२, फाल्गुण ६ गते

साई ग्लोबल कप सुरु, रुपन्देही क्याम्पस र साई ग्लोबलको विजयी सुरुवात

मंगलवार , फाल्गुण ५, २०८२

  • 178
    Shares
  • 178
    Shares
  • भैरहवा, ५ फागुन । मंगलबारदेखि रुपन्देहीको भैरहवामा ११ औं संस्करणको जिल्लास्तरीय अन्तरकलेज साई ग्लोबल टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको हो । मंगलबार भएका दुई खेलमा रुपन्देही क्याम्पस र साई ग्लोबल कलेज ‘ए’ टीम विजयी भएका छन् । रुपन्देही क्याम्पसले सरस्वती संस्कृतलाई १० विकेटले हराउँदा साई ग्लोबलले युसियमयस मेडिकल कलेजलाई ७७ रनले पराजित गर्यो ।

    सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सरस्वतीले १३ ओभरमा सबै विकेट गुमाएर जम्मा ३४ रन बनायो । उसलाई सस्तैमा रोक्न रुपन्देही क्याम्पसका सन्तोष यादव, जितेन्द्र केवट, सत्यमसिंह क्षेत्री र शिवकान्त यादवले समान २–२ विकेट लिए । सरस्वतीका अधिकांश खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

    जवाफी ब्याटिङ गरेको रुपन्देही क्याम्पसले ३ ओभर ३ बलमा विना क्षति ३७ रन बनाउँदै जित दर्ज गर्यो । उसको जितमा सन्तोष यादवले अविजित १६ र मनिष थापाले नटआउट १५ रन जोडे । खेलमा सन्तोष यादव प्लेयर अफ द म्याच भइ १ हजार रुपैयाँ प्राप्त गरे ।

    त्यस्तै अर्को खेलमा टस जितेर पहिला ब्याटिङमा आएको साई ग्लोबल ‘ए’ले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २३ रनको बलियो योगफल बनायो । उसका लागि ड्रस सुनारले ९०, शैलेन्द्र यादवले ३७, अजिउल्लाह हकले २९, विन्दराम यादवले नटआउट २० रन जोडे । बलिङमा युसिएमएसका अजित यादवले २ तथा मन्जुश्री यादव र सफीउल्लाह खानले समान १–१ विकेट लिए ।
    जवाफमा युसिएमएस १७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ४६ रन मात्रै बनायो । उसका लागि अजित यादवले ६८ र सुरज पौडेलले ३९ रन जोडे । बलिङमा साई ग्लोबलका मनिष पन्थीले ३ तथा दिलबहादुर विक, सन्दीप मौर्य र लेख क्षेत्रीले समान २–२ विकेट लिए । खेलमा ड्रस सुनार प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

    फागुन १४ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न २० वटा कलेजहरुको सहभागिता रहेको खेल संयोजक निरजप्रताप खाँणले बताए । प्रतियोगिताको विजेता टीमले ५५ हजार ५ सय ५५ रुपैयाँ, उपविजेता टीमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बलरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार रुपैयाँ पाउनेछन् ।

    त्यस्तै प्रतियोगिताको अनुशासित टिमलाई पनि सम्मानित गरिने आयोजकले जनाएका छन् । यसअघि प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै प्याब्सन केन्द्रीय उपाध्यक्ष टीकाराम न्यौपाने, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा र साई ग्लोबल कलेजका अध्यक्ष दिनेश मान अमात्यले यस्ता प्रतियोगिताले क्रिकेटको विकासमा टेवा पुग्ने जनाए ।