राजधानी सार्नेलाई अनुमोदन नगरौँ : खाँण
सोमवार , फाल्गुण ४, २०८२
बुटवल, फागुन ४ । बुटवलमा रहेको लुम्बिनी प्रदेशको राजधानी दाङ सारिएपछि रुपन्देही क्षेत्रमा ठूलो आर्थिक क्षति पुगेको उद्योगी ब्यवसायीले बताएका छन् । केही भएपनि चलायमान भएको यहाँको बजार राजधानी सारिएसंगै सुस्ताउँदै जाँदा आर्थिक गतिबिधि समेत घटेको उनीहरुको तर्क छ ।
नेपाली कांग्रेसले रुपन्देही क्षेत्र न २ मा रहेका निजीक्षेत्रका सरोकारवालासंग गरेको आर्थिक नीति सम्वाद कार्यक्रममा बोल्ने अधिकांश उद्योगी ब्यवसायीले राजधानी सरेपछिको क्षतिले बर्षौंसम्म हानिरहेको समेत उल्लेख गरे ।
बुटवल कालिकानगरमा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले कांग्रेसलाइ जिताएर पठाउन आग्रह गर्नुभयो । उहाँले आफुले नीजिक्षेत्रमा अर्बाैँ लगानी गरेको उल्लेख गर्दै राज्यबाट सहि नीति र नियम नबन्दा समस्या भोगेको समेत स्मरण गर्नुभयो ।
उहाँले अबको संसदमा नेपाली अर्थतन्त्र,लगानी,कृषि उत्पादनको बजार,पर्यटन, व्यवसायिक चुनौती, रोजगारी तथा विकासका एजेण्डालाइ सधै प्राथमिकता राख्ने बताउनुभयो । पौडेलले रुपन्देही क्षेत्रको आवश्यकता,संभावना,समस्या र चुनौती राम्रोसंग बुझेकाले देखेका र भोगिरहेको समस्याबाट उद्योगी ब्यबसायीलाइ मुक्त गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले घरदैलोमा जाँदा जनताले दिएको सुझाव, सल्लाह र गुनासोलाई आफ्नो कार्ययोजनामा समेटेर व्यवहारमै उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री बालकृष्ण खाँणले कांग्रेसले रुपन्देहीमा लुम्बिनी प्रदेशको अस्थायी मुकाम तोकेको स्मरण गर्दै बुटवलबाट राजधानी दाङ सार्नेलाइ अब यहाँका जनताले अनुमोदन गर्न नहुने जिकिर गर्नुभयो । देश र लोकतन्त्रलाई बलियो बनाइ संविधान कार्यान्वयन गर्न नेपाली कांग्रेसलाइ जिताउनुपर्ने नेता खाँणको भनाइ छ ।
सो अवसरमा बोल्दै राजनीतिक बिश्लेषक अरुणकुमार सुवेदीले नेपालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको पालामा बिस २०४८ सालको बैंकिङ उदारिकरणको नीतिले देशमा आर्थिक अवस्था सुधारिएको र साना ब्यवसायीले पनि ठूलो कारोबार गरेर आर्थिक अबस्था अब्बल बनेको उल्लेख गर्नुभयो । उहाँले २०६३ सालपछि देश कम्यूनिष्टको नेतृत्वमा जाँदा तहसनहस भएको स्मरण गर्नुभयो ।
उहाँले अब कांग्रेसले यसलाइ सुधारेर जनतामा आशा जगाउनुपर्ने बताउनुभयो ।नेपाली कांग्रेसले आफूलाइ बदलेको स्मरण गर्र्दै उहाँले पूजीको सहि प्रयोग,परिचालन हुन सके देशकै आर्थिक अबस्था सुधारिने बताउनुभयो ।
सुवेदीले नेपाली कांग्रेसले चुनावी घोषणापत्रमा सामाजिक र राजनैतिक स्वतन्त्रता मात्रै प्रदान नगरि आर्थिक स्वतन्त्रता पनि उल्लेख गर्नुपर्ने सुझाव समेत दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य रामबहादुर कार्की,कांग्रेस रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति प्रजापाल गिरी, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष एवं नेपाली कांग्रेस उद्योगी ब्यवसायी परिचालन समितिका संयोजक हरि अर्याल, उद्योग बाणिज्य संघ बुटवलका महासचिव मुक्ती अधिकारी लगायतले बोल्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij