सोमवार , फाल्गुण ४, २०८२
भैरहवा, ४ फागुन । जनता समाजवादी पार्टी (जसपा), नेपालको जनसम्पर्क एवं क्षेत्र नम्बर १ रुपन्देहीको सम्पर्क पार्टी कार्यालय रोहिणी गाउँपालिका–३ स्थित धकधईमा उद्घाटन गरिएको छ ।
रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोहम्मद असलम खानले पार्टी कार्यालयको उद्घाटन गर्नुहुँदै आफूहरुको लडाई पहिचान, अधिकारको रहेको बताउनुभयो ।
देशमा भएको बेरोजगारी अन्त्य गर्न क्षेत्र नम्बर १ को विकासका लागि आफनो उम्मेदवारी भएकोले निर्वाचनमा जिताउन उहाँले आग्रह गर्नुभयो । उहाँले अन्य पार्टीका व्यक्ति पटकपटक विजयी हुँदा पनि यस क्षेत्रको विकासका लागि कुनै काम नगरेकोले आफूले जनताको समस्या संसदसम्म पुर्याउने प्रतिबद्धता जनाउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिमा ठोस नीति ल्याउन जसपा नेपाल सक्षम रहेको बताउँदै जनताको विश्वास जितेरै चुनाव जित्ने दावी गर्नुभयो ।
कार्यक्रममा जसपा नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवले रुपन्देही क्षेत्र नम्बर १ मा अब जसपा नेपालका उम्मेदवारलाई अवसर दिन आग्रह गर्नुभयो । उहाँले सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर जनताको घरदैलोमा पुग्न आग्रह गर्नुभयो ।
जसपा नेपाल केन्द्रिय सदस्य विद्या प्रसाद यादवले यस क्षेत्रका सबैको अधिकार र पहिचानका लागि सडकदेखि लिएर सदनसम्म आवाज उठाउने प्रतिबद्धता गर्नुभयो । उहाँले यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा जसपालाई जिताउन आग्रह गर्नुभयो ।
जसपा नेपाल थरुहट प्रदेश उपाध्यक्ष ब्यासमुनी चौधरीले थारु समुदायसहित सबै पिछडिएका वर्गको अधिकारका लागि जसपा नेपाल निरन्तर लड्दै आएको बताउनुभयो ।
त्यस्तै समाजवादी विद्यार्थी युनियन, नेपालका वरिष्ठ उपाध्यक्ष राहुल यादवले युवाहरूलाई राजनीतिमा सक्रिय बनाउने समय आएकाले फागुन २१ गते चुनाव सामान्य चुनाव नभएको बताउनुभयो । उहाँले संविधान संशोधनका लागि भए पनि जसपालाई एकपटक अवसर दिनुपर्ने बताउनुभयो । उहाँले शिक्षित युवा नेतृत्व बिना परिवर्तन सम्भव नभएकाले उल्लेख गर्नुभयो ।
जसपा नेपाल लुम्बिनी प्रदेश सदस्य कान्छा कोहारले पार्टीले जनताको भावना बुझेर काम गरिरहेको बताउनुभयो ।
पार्टीको रुपन्देही जिल्ला सदस्य बिनय यादवले पार्टी कार्यालय स्थापना जनतासँग प्रत्यक्ष सम्पर्क बढाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो । जसपा नेपाल रुपन्देही जिल्ला सदस्य विनय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रममा रुपन्देहीका जिल्ला सदस्य विजय यादवले गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
