सोमवार , फाल्गुण ४, २०८२
भैरहवा, ४ फागुन । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । संघले महाशिवरात्रीको अवसरमा आइतबार सिद्धार्थनगर नगरपालिका–८ बसडिलवास्थित शिव मन्दिर अगाडि शिविर आयोजना गरेको हो ।
युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (युसीएमएस) को प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको कार्यक्रम संयोजक चिरञ्जीवी भट्टराईले बताउनुभयो ।
मदिरा व्यवसायी संघ भैरहवाले व्यवसायीको हकहितसँगै सामाजिक कार्यहरुलाई निरन्तरता दिदै आएको अध्यक्ष यादव पोख्रेलले बताउनुभयो । उहाँले शिविरमा २५० जना बढीको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पशुपति न्यौपानेले मदिरा व्यवसायले धेरै कर तिरेर देशको विकासमा महत्वपूर्ण टेवा पुर्याएको बताउनुभयो । उहाँले गत वर्ष पनि यही ठाउँमा स्वास्थ्य शिविर आयोजना गरेको मदिरा व्यवसायी संघ भैरहवाले यस वर्ष पनि निरन्तरता दिएको भन्दै आभार व्यक्त गर्नुभयो ।
त्यस्तै संघका निवर्तमान अध्यक्ष बाबुराम पाण्डेले संघको वार्षिक कार्ययोजना अनुसार महाशिवरात्रीको अवसर पारेर शिविरको आयोजना गरिएको बताउनुभयो । मन्दिरमा आएका श्रद्धालु भक्तजनहरुको स्वास्थ्य परीक्षण गरिएको बताउनुभयो । संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले मदिरा व्यवसायी संघ भैरहवाले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको बताउनुभयो ।
संघका वरिष्ठ सल्लाहकार खिम बहादुर खत्रीले गत वर्षदेखि शिव मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गनृ लागिएको र आगामी दिनमा पनि निरन्तरता दिदै जाने बताउनुभयो।
संघका महासचिव सुन्दर भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij