२०८२, माघ २६ गते

Feb 09 2026 | २०८२, माघ २६ गते

रुपन्देही–१ मा जीत निकाल्ने दाउमा प्रज्वल बोहरा

सोमवार , माघ २६, २०८२

  • 265
    Shares
  • 265
    Shares
  • भैरहवा । रुपन्देहीको सिद्धार्थनगर–३, खजहनामा जन्मनुभएका प्रज्वल बोहरा आईटी व्यवसायबाट राजनीतिमा होमिनुभएको छ । भैरहवा, काठमाडौं हुँदै भारतको दिल्ली र अमेरिकासम्म पुगेर आईटी इन्जिनियरिङ अध्ययन गरेका बोहरा लामो समयदेखि आईटी व्यवसायमा संलग्न थिए । तर, व्यवसायलाई थाती राखेर उहाँ राजनीतिमा सक्रिय हुनुभएको हो ।

    राजनीतिक पृष्ठभूमिको परिवारमा हुर्किनुभएका बोहराले आफ्ना पिता स्वर्गीय दीपक बोहराको राजनीतिक विरासत सम्हाल्न आफू राजनीतिमा आएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पिताजीको निधनपछि रुपन्देहीका आम मतदाताले आफूहरू राजनीतिक रूपमा टुहुरो भएको महसुस गर्दै उहाँकै मार्ग पछ्याउन आग्रह गर्नुभयो । त्यसैक्रममा पार्टीले पनि विश्वास गरेर प्रतिनिधि सभा सदस्यको टिकट दिएपछि म चुनावी मैदानमा उत्रिएको हुँ । आम मतदाताको अभिभावक बन्नेगरी काम गर्ने मेरो योजना छ ।”

    व्यावसायिक रूपमा स्थापित भइसकेका बोहराले राजनीतिलाई सेवाको माध्यमका रूपमा लिएको बताउनुभयो । “धेरै दल र नेताले राजनीतिलाई व्यवसाय बनाएका छन्, तर हामीले जनसेवालाई आफ्नो दायित्व ठानेका छौं र आगामी दिनमा पनि यही मार्गमा अघि बढ्नेछौं,” उहाँले भन्नुभयो ।

    नेपालको राष्ट्रियता, सनातन हिन्दू धर्म, भाषा, संस्कृति र परम्पराको संरक्षण गर्दै भावी पुस्तालाई मौलिक पहिचान हस्तान्तरण गर्ने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने र सुशासन प्रवर्द्धन गर्ने दृढ संकल्पसहित आफू रुपन्देही–१ बाट चुनाव लडिरहेको उहाँको भनाइ छ ।

    सुशासन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, राजनीतिमा नयाँ नेतृत्वको आवश्यकता र समान अवसरको माग गर्दै जेन–जी पुस्ताले आन्दोलन गरेको उल्लेख गर्दै बोहराले त्यसको भावना आफूले आत्मसात् गरेको बताउनुभयो ।

    “सीपयुक्त शिक्षामा जोड दिँदै युवालाई देशमै रोजगारीको अवसर सिर्जना गर्नु र विदेश पलायनको बाध्यता अन्त्य गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ,” उहाँले भन्नुभयो ।

    रुपन्देही–१ मा लघुवित्त तथा सहकारी पीडितका समस्या समाधान, अधुरा सडक आयोजना पूरा गर्ने, स्वच्छ खानेपानी सुनिश्चित गर्ने र धकधई स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी विशेषज्ञ सेवा उपलब्ध गराउने योजना रहेको उहाँले बताउनुभयो ।

    देवदह भगवान् बुद्धको मावली क्षेत्र भएकाले लुम्बिनी, कपिलवस्तुको तिलौराकोट र देवदहलाई जोडेर ‘बुद्ध सर्किट’को रूपमा विकास गर्ने आफ्नो प्रतिबद्धता रहेको उहाँको भनाइ छ ।

    त्यसैगरी नागरिक सेवाका लागि दमकल र एम्बुलेन्सको प्रभावकारी व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।

    राप्रपाले रुपन्देही–१ लाई आफ्नो आधार क्षेत्रका रूपमा लिँदै आएको छ । स्थानीय तह निर्वाचनमा रोहिणी गाउँपालिकामा उपाध्यक्षसहित चार वडामा राप्रपा विजयी भएको थियो भने देवदह नगरपालिका वडा नं। ११ मा अध्यक्षसहित सबै पदमा राप्रपा विजयी भएको थियो ।

    प्रदेश सभा निर्वाचन क्षेत्र १९क० मा राप्रपाका आशिष चौधरी १७,७९६ मतसहित विजयी हुनुभएको थियो भने नेपाली कांग्रेसका विश्वनाथ यादवले १४,६५९ मत प्राप्त गर्नुभएको थियो ।

    २०७९ को प्रतिनिधि सभा समानुपातिकतर्फ राप्रपाले रुपन्देही–१ मा ११,२४३ मत प्राप्त गरेको थियो ।

    जिल्ला अध्यक्ष सागरप्रताप राणाले स्वर्गीय दीपक बोहराको पुरानो निर्वाचन क्षेत्र भएकाले यसपटक जित सुनिश्चित गर्नेगरी पार्टी सक्रिय रहेको बताउनुभयो ।

    रुपन्देही–१९ख० मा पनि राप्रपा बलियो रहेको र केन्द्रीय सहमहामन्त्री ताहिर अलीले यस क्षेत्र सम्हाल्दै आएको उहाँले जानकारी दिनुभयो ।

    सहमहामन्त्री अलीले प्रज्वल बोहरा सक्षम उम्मेदवार भएकाले नागरिकले सही छनोट गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    बोहराले रोहिणी नदीमाथि पक्की पुल निर्माण, स्थानीय उद्योगमा स्थानीय श्रमिकलाई प्राथमिकता, युवालाई स्वदेशमै रोजगारी सिर्जना, कृषि क्षेत्रको उत्थान र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।

    भलवारीस्थित सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले नयाँ दलहरूसँग स्पष्ट नीति र दृष्टिकोण नभएको भन्दै मतदातालाई सजग हुन आग्रह गर्नुभयो ।

    कार्यक्रममा वक्ताहरूले लघुवित्त पीडितको समस्या समाधान, सडक सञ्जाल विस्तार, खानेपानी सुधार र स्वास्थ्य सेवाको स्तरोन्नति राप्रपाले प्रभावकारी रूपमा गर्ने प्रतिबद्धता जनाएका थिए ।