मंगलवार , माघ २०, २०८२
बुटवल, २० माघ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मंगलबार साधना महिला विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । आफ्नो सातौं स्थापना दिवसको अवसरमा संस्थाले उक्त सामग्री हस्तान्तरण गरेको हो ।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै रचनात्मक गतिविधिमार्फत स्थापना दिवस मनाउँदै आएको सहकारीले यस वर्ष बुटवल–६ स्थित महिलाहरू अध्ययन गर्ने साधना महिला विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरी स्थापना दिवस मनाएको हो ।
सहकारीका ज्येष्ठ सदस्य हरिकला पाण्डे तथा उपाध्यक्ष विष्णुकुमारी गौतमले एक समारोहका बीच विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा बोल्दै उपाध्यक्ष गौतमले सहकारीले प्रत्येक स्थापना दिवस सामाजिक कार्यमार्फत मनाउँदै आएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा साधना महिला विद्यालयका अध्यक्ष मोतिलाल जैसीले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै पक्षको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले सहकारीले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । साथै, आगामी दिनमा पनि यस्ता पुण्य कार्यमा हातेमालो गर्न उहाँले आग्रह गर्नुभयो ।
कोषाध्यक्ष सन्तोष केसीले सहकारीलाई नमूना तथा भरोसायोग्य वित्तीय संस्थाका रूपमा स्थापित गर्न निरन्तर प्रयासरत रहेको उल्लेख गर्नुभयो । उहाँले छोटो समयमै सहकारी अब्बल र दरिलो वित्तीय संस्थाका रूपमा परिचित बन्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा सल्लाहकारहरू राजेन्द्र ढकाल, राजेन्द्र प्रसाद शर्मा, सहकारीका व्यवस्थापक विमला अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सहकारीका उपाध्यक्ष विष्णुकुमारी गौतमको अध्यक्षता, कोषाध्यक्ष सन्तोष केसीको स्वागत मन्तव्य तथा सचिव कमल नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहकारीका सल्लाहकार, सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारी र सदस्यहरू, विभिन्न उपसमितिका सदस्य तथा कर्मचारीहरूको सहभागीता थियो ।
बुटवल उपमहानगरपालिका–११ को पहिलो बहुउद्देश्यीय सहकारीका रूपमा परिचित सम्बन्ध सहकारी हाल ७ सय ५० भन्दा बढी शेयर सदस्यको सहभागीतासहित छोटो समयमा नै सबल र विश्वासिलो वित्तीय संस्थाका रूपमा स्थापित भएको छ ।
स्थापना दिवसकै अवसरमा सहकारीमा ११ जना नयाँ सदस्य थपिएका छन् । नयाँ सदस्यहरूमा जमुना बस्याल, सागर रायमाझी, सृजना विश्वकर्मा, सुप्रिम पाण्डे, सरस्वती न्यौपाने, रचना श्रेष्ठ, महेन्द्र पाण्डे, भगवती पौडेल, शकुन्तला ढकाल र किरण पौडेल रहनुभएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
