मंगलवार , माघ २०, २०८२
कपिलवस्तु, २० माघ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले प्रहरी संगठनलाई नागरिकप्रति थप उत्तरदायी, पीडितमैत्री र सेवामुखी बन्न निर्देशन दिनुभएको छ । कपिलवस्तुको चन्द्रौटास्थित वडा प्रहरी कार्यालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवनको मंगलबार उद्घाटन गर्दै आईजीपी कार्कीले नागरिकको सन्तुष्टि नै प्रहरीको मुख्य जिम्मेवारी भएको स्पष्ट गर्नुभयो ।
उहाँले सेवा केन्द्रका लागि निर्माण गरिएको सुविधासम्पन्न भौतिक संरचनाले प्रहरी कर्मचारीलाई सेवा विस्तारमा सहजता र थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । जनताको सेवामा २४ सै घण्टा खटिने प्रहरीका लागि यस्ता संरचनाले कार्यसम्पादन अझ प्रभावकारी बनाउने उहाँको भनाइ छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई मुलुकका संवेदनशील र भविष्यका आधारस्तम्भका रूपमा उल्लेख गर्दै कार्कीले उहाँहरूको सुरक्षा र सेवाका लागि प्रहरी सधै तत्पर रहेको बताउनुभयो । स्थानीय नागरिकलाई सेवा प्रवाह सहज बनाउने उद्देश्यले सेवा केन्द्र स्थापना गरिएकोप्रति उहाँले सम्बन्धित सबैलाई धन्यवादसमेत दिनुभयो ।
युएनओपिएसको सहयोगमा निर्माण भएको भवनको संरक्षण र सदुपयोग स्थानीय समुदायको पनि दायित्व भएको उहाँले जोड दिनुभयो । उहाँले संवेदनशील तथा जोखिममा रहेका समूहलाई सेवा दिन यो केन्द्र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रविधिमैत्री संरचनासँगै प्रहरी कर्मचारीहरू पनि समयअनुकूल परिवर्तन हुन जरुरी रहेको बताउनुभयो ।
हिंसा पीडितहरूका लागि आवश्यक सबै सेवासुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको यो भवनले सेवा प्रदायक र सेवाग्राही दुवैलाई लाभ पुग्ने उहाँको भनाइ छ । राज्यले दिने सेवा र नागरिकको पहुँच समान हुनुपर्ने उल्लेख गर्दै कार्कीले प्रहरीलाई अझ नागरिकमैत्री हुन सकल दर्जाका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।
‘मानिसको बोलीमा नै रस पनि हुन्छ, विष पनि हुन्छ,’भन्दै उहाँले पीडितप्रति समानता, संवेदनशीलता र न्यायपूर्ण दृष्टिकोण अपनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपाल प्रहरीको आदर्श वाक्य ‘सत्य, सेवा, सुरक्षा’ लाई व्यवहारमा उतार्न कार्कीले आग्रह गर्नुभयो ।
कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन शर्माले नागरिकको सेवालाई केन्द्रमा राखेर प्रहरी सेवा प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कपिलवस्तु जस्तो क्षेत्रमा यस्ता आधुनिक भवन निर्माण हुनु सकारात्मक उपलब्धी भएको उहाँको भनाइ थियो ।
युएनओपिएस नेपालका कन्ट्री म्यानेजर कोमल कार्कीले यस्ता संरचनाले नेपालमा शान्ति सुरक्षा सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । भवन राष्ट्रिय निर्माण मापदण्डअनुसार र स्थानीय सरकारको स्वीकृतिमा निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले आधुनिक भवनबाट सेवा दिन पाउनु प्रहरीका लागि सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो । उहाँले मानवता र पीडितमैत्री समाज निर्माणमा यस्ता केन्द्रहरू उपयोगी हुने धारणा व्यक्त गर्नुभयो ।
उक्त भवन १२ महिनामा निर्माण सम्पन्न भएको हो । २ करोड ३६ लाख ६४ हजार ७ सय १ रुपैयाँ लागतमा निर्माण गरिएको १२ कोठे भवनबाट अब महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई लक्षित सेवा थप प्रभावकारी रूपमा प्रदान गरिनेछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
