मंगलवार , माघ २०, २०८२
भैरहवा, २० माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ स्थित भैरहवा बहुमुखी क्याम्पस बुधबार (भोली) देखि खेलकुद महोत्सव–२०८२ हुने भएको छ । महोत्सवको उद्घाटनको अवसरमा बुधबार बिहान ७ः३० बजे भैरहवास्थित लुम्बिनी गेटबाट म्याराथन सुरु भइ देवकोटा चोक हुँदै क्याम्पस परिसरमा पुग्नेछ ।
मंगलबार पत्रकार सम्मेलन गरी क्याम्पसले महोत्सवबारे जानकारी गराएको हो । खेलकुद महोत्सवमा स्नातक तह अन्तर्गत बीए, बीबीएस, बिएड, बीएससी, बीबिएम, बीबीए, बीसीए, बीएससी आइटी, बीआइटी लगायत संकायमा अध्ययनरत विद्यार्थीहरूको सहभागीता रहनेछ ।
महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्न क्याम्पस प्रमुख लक्की प्रसाद जोशीको संरक्षकत्व तथा सहायक क्याम्पस प्रमुख इन्द्र बहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय मूल समिति गठन गरिएको छ । सहायक क्याम्पस प्रमुख गणेश प्रसाद पाण्डे र शंकर पन्थीलाई अनुगमनको जिम्मेवारी दिइएको छ । त्यस्तै विद्यार्थी कल्याण प्रमुख अरुणा कुमारी भुषालको संयोजकत्वमा तीन सदस्यीय खेलकुद सामग्री व्यवस्थापन समिति गठन गरिएको छ ।
क्याम्पस प्रमुख जोशीले विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद महोत्सव आयोजना गरिएको बताउनुभयो । सहायक क्याम्पस प्रमुख थापाले धेरै विधा समेटेर खेलकुद महोत्सव आयोजना गरिएको यो पहिलोपटक भएको जानकारी दिनुभयो ।
महोत्सवमा छात्र तथा छात्रातर्फ भलिबल, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, १०० मिटर दौड, चेस, इलेक्ट्रोनिक गेम र म्याराथन प्रतियोगिता हुनेछन् । त्यस्तै छात्रतर्फ क्रिकेट र फुटबल सञ्चालन हुनेछ ।
प्रतियोगितामा क्रिकेटतर्फ २० टीम, भलिबलमा १२ टीम, फुटबलमा ६ टीम, बास्केटबल ६ टिम, ब्याडमिन्टन ९८ जना, टेबल टेनिस ६२ जना, १०० मिटर दौड ४० जना, २०० मिटर दौड ३० जना, सटपुट ५० जना, चेस १२० जना र म्याराथनमा ४० जना विद्यार्थी सहभागी हुने खेल संयोजक तथा सायक क्याम्पस प्रमुख इन्द्र थापाले बताउनुभयो ।
सहायक क्याम्पस प्रमुख पिताम्बर तिवारीले स्वतन्त्र विद्यार्थी युनियन नहुँदा खेलकुद गतिविधिमा देखिएको रिक्तता पूर्ति गर्न महोत्सव आयोजना गरिएको बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
