मंगलवार , माघ २०, २०८२
काठमाडौं, २० माघ । नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले झापा क्षेत्र नम्बर ५ मा पार्टीका अध्यक्ष केपी शर्मा ओली नै विजयी हुने दाबी गर्नुभएको छ ।
प्रेस चौतारी नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उपाध्यक्ष गुरुङले रास्वपाका उम्मेदवार बालेन्द्र साहले काठमाडौंको सुकुम्बासी बस्तीमा, गरिखाने सडकका जनतामाथि डोजर चलाएर बालेन्द्र साहले झापा ५ मा निर्वाचन जित्नै नसक्ने जिकिर गर्नुभयो ।
उहाँले बालेनले त्यहाँको सुकुम्वासीहरुलाई लालपूर्जा दिन्छ भन्ने भ्रममा नपर्न पनि झापा ५ का सुकुम्वासी नागरिकहरुलाई अपिल गर्नुभयो । बालेनको विगत, वर्तमान र भविष्य हेर्ने हो भने पनि उनले सुकुम्वासीलाई लालपूर्जा वितरण गर्दछन् भनेर विश्वास गर्न नसकिने उपाध्यक्ष गुरुङको भनाई थियो ।
उहाँले रास्वपाले विभिन्न झुटा प्रचार गरेर एमालेको निर्वाचन अभियानलाई कमजोर बनाउने नियतका साथ झापा ५ मा पार्टी अध्यक्ष ओलीसँग चुनावी प्रतिष्पर्धाका लागि बालेनलाई उम्मेदवार बनाएको समेत बताउनु भयो । उपाध्यक्ष गुरुङले आसन्न निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो,‘काठमाडौंको सुकुम्वासी बस्तीमा डोजर चलाउने बालेनजी होइन ? काठमाडौंको गरीखाने सडकका मान्छेलाई डोजरले हटाउने बालेनजी होइन ? अनि त्यही व्यक्तिले झापामा गएर सुकुम्बासीलाई लाजपूर्जा दिन्छु भन्ने कुराको विश्वास गर्ने हो भने जनताले धोका पायो । म सबै जनतालाई अनुरोध गर्न चाहन्छु–धोकामा नपर्नुस । विगत हेर्नुस् । हिजोका कुरा हुेर्नस्, अस्तीका कुरा हेर्नुस् । र आज के हुँदैछ, भोली के कुरा भन्दैछ ? यस्ता कुरामा विश्वास नगर्नुस् भन्न चाहन्छु पहिलो कुरा ।
दोस्रो कुरा निकै ठूलो डिजाईनका साथ बालेनलाई त्यहाँ पठाइयो । त्योभित्र एउटा एमाले भित्र टेन्सन सृजना गर्ने भन्ने छ । हाम्रो अध्यक्ष जो, १६५ वटै निर्वाचन क्षेत्रमा जानुपर्ने व्यक्ति हो नि उहाँ चुनावको लागि । त्यसकारण एमालेको चुनावी अभियानमा पनि कमजोर होस भन्ने मनसायका साथ यो काम गरिएको छ । तेस्रो भनेको हल्ला नै हल्लाको देश हो नि यो ।
झुट, फरेव साराका सारा लगाएर त्यहाँका जनतालाई झुक्याउन सकिन्छ कि ? भन्ने प्रयत्न गर्न खोजिएको हो । शुरुका दिनमा त जित्यो बालेनले भनिएको हो । २१ गते पुगोस् न । जित्ने त केपी ओलीले नै हो । अहिलेसम्मको अनुभवमा हाम्रो अभियान पहिलो पार्टी बनाउने हो, हुन्छौँ ।’
उपाध्यक्ष गुरुङले आसन्न निर्वाचनमा जनताले नयाँ अनुहार नभई सुधारसहितको पुरानै राजनीतिक दलहरुलाई चाहेको पनि बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
