२०८२, फाल्गुण ७ गते

Feb 19 2026 | २०८२, फाल्गुण ७ गते

यो निर्वाचन देशको लागि महत्वपूर्ण छ : उपसभापति अर्याल

आइतवार , माघ १८, २०८२

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोल प्रसाद अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचन देशको लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले संविधान कार्यान्वयन गर्न, नीति निर्माण र कानून बनाउन निर्वाचन महत्वपूर्ण रहेकोमा जोड दिनुभयो ।

    रास्वपा निर्वाचन परिचालन समितिको मुख्य कार्यालय निर्वाचन क्षेत्र नम्बर ३, रुपन्देहीको भैरहवामा उद्घाटन गर्नुहुँदै उपसभापति अर्यालले नेपालको इतिहासमा यो भन्दा अगाडि भएका निर्वाचन र अब हुने निर्वाचन भन्दा अहिलेको निर्वाचन अत्यन्तै फरक भएको बताउनुभयो । उहाँले यो निर्वाचन मत छर्ने निर्वाचन नभएको बताउनुभयो ।

    ‘यो निर्वाचन रास्वपालाई दुईतिहाई बहुमत दिएर एकपटक सरकारको नेतृत्व गर्न दिने निर्वाचन हो’उहाँले भन्नुभयो–‘त्यसपछि यदी एउटा स्थायी सरकार बनाएर पाँच वर्षसम्म काम गर्न सकेन भने रास्वपालाई पृथ्वीबाट बिलय गराइदिए हुन्छ, हामीलाई फेरी चाहिदैन । हामीले ३५ वर्षका लागि होइन, एकपटक साथ मागेका छौं ।’ निर्वाचनबाहेक दाँयाबाँया सोच्न नहुने भन्दै रास्वपाले दुईतिहाई बहुमत ल्याउन नसके देश अझै दलदलमा फस्ने उहाँको भनाइ छ ।

    पूर्वमन्त्री समेत रहनुभएका नेता अर्यालले यसपटक रास्वपालाई सम्पूर्ण मतदाताहरुको साथ आवश्यक रहेको बताउनुभयो । ‘केही फरक काम गरौं भनेर आएका छौं । परिवर्तन आवश्यक छ । यो केवल रास्वपाका केही नेताहरुलाई नेता, मन्त्री र प्रधानमन्त्री बनाउन होइन, ’उहाँले भन्नुभयो ।’

    रास्वपा र त्यसका नेताहरु कस्तो हुन्, रास्वपा नेतृत्वको सरकारले देशलाई कसरी समृद्धितर्फ लैजान्छ, सुशासन कसरी कायम गर्न सक्छ र भ्रष्टाचारको अन्त्य कसरी गर्छ भनेर प्रमाणित गरेर देखाउन एकपटक अवसर दिन उहाँले आग्रह गर्नुभयो ।

    त्यस्तै रास्वपाबाट रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार डा. लेखजंग थापाले राष्ट्रलाई नयाँ बाटोमा अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।