आइतवार , माघ १८, २०८२
भैरहवा, १८ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपाल रुपन्देही क्षेत्र नम्बर १ को अगुवा कार्यकर्ता भेला रोहिणी गाउँपालिका–३ स्थित बैंकुण्ठपुरमा सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार समिति गठन गरेको छ ।
विन्दु पाण्डेको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिको सह–संयोजकमा ब्यास मुनी चौधरी रहनुभएको छ । त्यस्तै आर्थिक, सञ्चार, अनुशासन, सल्लाहकार लगायत विभिन्न समिति पनि गठन गरिएको जसपा नेपालले जनाएको छ ।
भेलामा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेय, जसपा नेपालका केन्द्रीय सदस्य तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव लगायतले बोल्नुभएको थियो ।
भेलामा नेताहरुले जसपा नेपालले मात्रै देश र जनताको हकहितमा काम गर्न सक्ने पार्टी भएकोले आगामी निर्वाचनमा जनताले साथ दिनुपर्ने बताउनुभयो ।
जसपा नेपालले रुपन्देही-१ मा पार्टीका युवा नेता मोहम्मद असलम खाँलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
