शनिवार , माघ १७, २०८२
रुपन्देही, १७ माघ । नेपाल पत्रकार महासंघ रुपन्देहीले फरकफरक दुई विधामा पुरस्कार स्थापना गरेको छ । महासंघ रुपन्देही शाखाको १५ औं नियमित बैठकले खेलकुद पत्रकारिता पुरस्कार र फोटो पत्रकारिता पुरस्कार स्थापना गरेको हो । यी दुवै पुरस्कारको राशी २५/२५ हजारको हुने पत्रकार महासंघ रुपन्देहीले जनाएको छ ।
नेपाल पत्रकार महासंघको स्थापना दिवसका अवसरमा आयोजित फुटसल प्रतियोगिताबाट बचत भएको रकमबाट ५ लाखको कोषमा जम्मा गर्ने निर्णय गरेको छ । उक्त कोषबाट आउने ब्याजबाट उक्त पुरस्कार दिइनेछ । महासंघले उक्त पुरस्कार यस वर्षको स्थापना दिवसका अवसरमा वितरण गर्ने जनाएको छ ।
त्यसै गरी महासंघले यसै बर्षबाट फोटो पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । महासंघले गत पुस महिनामा बुटवल मण्डपमा सञ्चालन भएको फोटो प्रदर्शनीबाट संकलित रकमबाट ५ लाख रुपैयाँको कोष निर्माण गरी उक्त कोषको ब्याजबाट आउने रकमबाट प्रत्येक वर्ष लुम्बिनी प्रदेशभरीका पत्रकारहरूले प्रकाशन गरेका फोटोमध्ये उत्कृष्ट ए जना पत्रकारलाई उक्त पुरस्कार वितरण गरिने जनाएको छ । उक्त कोषका लागि रुपन्देही उद्योग संघले २ लाख रुपैयाँ सहयोग गरेको छ ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले रुपन्देहीले लुम्बिनी प्रदेशका सबै जिल्लाहरूलाई भावनात्मक रूपमा जोडने उद्देश्यले प्रदेशस्तरीय उक्त पुरस्कार स्थापना गरिएको बताउनुभयो । ‘अग्रजहरूले रुपन्देहीलाई पत्रकारितामा मोफसलको राजधानी भन्ने कुरालाई स्थापित गर्नुभएको छ हामी त्यसलाई भावनात्मक ढंगले जोडने प्रयत्न स्वरुप उक्त पुरस्कार स्थापना गरेका हौं, ’पाण्डेले भन्नुभयो । रुपन्देही पत्रकारितामा अगुवाइ गरेको जिल्ला रहेको र यसले फोटो पत्रकारितामा लागेकाहरूलाई प्रोत्साहन पनि मिल्ने उहाँको भनाइ छ ।
त्यसै गरी महासंघले आफ्नो मातहत रहेको पत्रकार कल्याणकारी कोषलाई ३० लाख रुपैयाँ बनाएको छ । यसअघि २५ लाख रुपैयाँ रहेको कोषलाई यस वर्ष ५ लाख रुपैयाँ थप गरी ३० लाख बनाएको हो । महासंघले उक्त कोषबाट कुनै पत्रकारको मृत्यु भएको खण्डमा आश्रित परिवारलाई २५ हजार रुपैयाँ रकम प्रदान गरिने जनाएको छ । त्यसै गरी विगतमा दुर्घटनाबाट घाइते पत्रकारहरूको उपचार सहयोग हुँदै आएकोमा गत वर्ष देखि तथा सुत्केरी पोषण खर्च र शिशु बचत योजना समेत सञ्चालन गरेको छ ।
महासंघ रुपन्देही शाखामा आबद्ध पत्रकार महिला सुत्केरी हुँदा ५ हजार रुपैयाँ पोषण खर्च र उनको शिशुका नाममा ५ हजार रुपैयाँको शिशु बचत खातामा रकम जम्मा गरिदिनेछ ।
महासंघको बैठकले निर्वाचनका समयमा हुन सक्ने पत्रकार आचारसंहिता उल्लंघन र पत्रकारको सुरक्षाका विषयमा अनुगमन गर्न अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा महासंघका सल्लाहकारहरू सदस्य रहेको अनुगमन समिति समेत गठन गरेको महासंघका सचिव सिपी खनालले बताउनुभयो ।
यसका साथै महासंघले पत्रकार कल्याणकारी कोषको कार्यविधि २०८२ तथा फोटा पत्रकारिता पुरस्कार तथा खेलकुद पत्रकारिता पुरस्कार कार्यविधि २०८२ पारित गरेको छ । भने अन्य पुरस्कारहरू समेत व्यवस्थित गर्ने निर्णय महासंघले गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
