बिहिवार , माघ १५, २०८२
पाल्पा, १५ माघ । पाल्पास्थित रामपुरको समग्र विकासका लागि पर्यटन नै मुख्य आधार रहेको बिहीबार यहाँ आयोजित गोष्ठीका सहभागीहरुले बताएका छन् । गोष्ठीमा नेपाल उद्यान महासंघका केन्द्रीय उपाध्यक्ष दलबहादुर गुरुङ, मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका महासचिव युवराज घिमिरे र सोही समितिका प्रमुख कार्यकारी अघिकृत अनन्तराज सिलवालले ‘रामपुरको समृद्धिका लागि पर्यटन र यसका आधार’ विषयमा आधारपत्र पेश गरेका थिए ।
उक्त आधारपत्रमा रामपुरको समृद्धिका लागि पर्यटन र पर्यटन विकासका लागि उद्यान, कृषि, प्रकृति र संस्कृति रहेको हुँदा सोही अनुसारको एकीकृत पर्यटन नीति, योजना र कार्यक्रमका साथै गुरुयोजनामा जोड दिनुपर्ने उल्लेख गरिएको छ । रामपुरलाई रेष्टप्लेसका रुपमा विकास गर्न पालिकाले रामपुरभित्र रहेका पर्यटनसँग सरोकार राख्ने संघ–संस्थाहरुको सञ्जाल गठन गर्नुपर्नेमा जोड दिइएको छ ।
सो गोष्ठीका प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले साधनस्रोत सम्पन्न रामपुरलाई पर्यटकीय गन्तव्य बनाउँदै अघि बढिरहेको बताउनुभयो । पर्यटनलाई नै मूलआधार बनाउन सक्दा रामपुरक्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्ने उहाँको तर्क थियो ।
गोष्ठीमा नेपाल उद्यान महासंघका केन्द्रीय सदस्य सागर देवकोटाले पर्यटन विकासको खास आधार उद्यान भएको हुँदा एक वडा एक उद्यानलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । रामपुरमा थुप्रै पर्यटकीय गन्तव्य भएता पनि सोचेजति विकास हुन नसकेको उहाँको गुनासो थियो ।
गोष्ठीमा फणेश्वर गाैतम, पुरुषोत्तम ढकाल, हुमनाथ न्यौपाने, हरिनाथ ढुंगानालगायतले रामपुरलाई पर्यटनको हब बनाउनुपर्नेमा जोड दिनुभयो । सहभागीहरुले गोष्ठी फलदायी रहेको र कार्यान्वयनमा रामपुर नगरपालिकाको दायित्व र भूमिका अभिभावकीय रहनुपर्नेमा जोड दिएका थिए ।रामपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिवाकर देवकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको आयोजना तालपोखरा संरक्षण समिति र समन्वय नेपाल उद्यान महासंघले गरेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
