सोमवार , माघ १२, २०८२
भैरहवा, १२ माघ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले पैसा कमाउने उद्देश्यले आम नागरिकलाई प्रहरी कर्मचारीबाट दुःख दिने काम नहुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले कसैसँग मिलेमत्तो गरेर कमाउने उद्देश्यका साथ आफूहरु नआएको स्पष्ट पार्नुभयो ।
७४ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आइतबार बेलहियास्थित भैरहवा भन्सार कार्यालयमा आयोजना गरेको भन्सार सहजीकरणमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियामा डीआइजी खत्रीले न्याय नपाएर रोएको धेरै मान्छे आफूले देखेको बताउनुभयो । ‘प्रहरी कार्यालयमा आउने मान्छेलाई नजिकबाट देखेको छु । हामी सबैको दायित्व छ । कसैसँग मिलेमत्तो गरेर हामी कमाउने उद्देश्यका साथ आएका छैनौं । हामी खुल्ला किताब हौं, ’उहाँले भन्नुभयो–‘हाम्रो गतिविधि यहाँहरुले थाहा पाइहाल्नहुुन्छ । ’ अर्थतन्त्र र राजस्व संकलनमा असर पार्ने काम अर्थात तस्करी प्रहरीको मिलमत्तो नहुने उहाँको भनाइ छ । ‘हाम्रो कुनै पनि ‘इन्टरेष्ट’ छैन । यहाँहरुको भावना बुझ्छौं । यहाँहरुको भावनासँग सहमत छौं । हामी राष्ट्रसेवक कर्मचारी हौं । हामी जनताका छोराछोरी हौं, उहाँले भन्नुभयो–‘हामी विभिन्न ठाउँबाट जनताको सेवा गर्न आएका छौं ।’
तस्करी, संगठित अपराध, लागूऔषध दुव्यर्सनी तथा ओसारपसारको रोकथामका लागि नागरिकको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । ‘पछिल्लो समय युवाहरु लागूऔषधको दलदलमा फसेका छन् । यो विषय चुनौतीपूर्ण छ । अपराधको रोकथाम गर्न नागरिकको साथ, सहयोग छ । हामी खरो रुपमा उत्रिन्छौं,’ डीआइजी खत्रीले भन्नुभयो ।
प्रहरीले पारदर्शी रुपमा काम गर्ने र हरेक कुरामा जवाफदेही रुपमा प्रस्तुत हुने उहाँको भनाइ छ । निर्वाचनलाई सफल बनाउन सरकारले दिएको जिम्मेवारी पूरा गरिरहेको उहाँले बताउनुभयो ।
त्यस्तै रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले सबै निकायले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँ सबै समस्या एकैपटक र एउटा मात्र निकायले समाधान नहुने बताउनुभयो । ‘समस्याको पहिचान नगरी समाधान हुन सक्दैन । जनता बर्दी बिनाको प्रहरी हो । सूचना दिने दायित्व नागरिक पनि हो । अरुतिर औला देखाएर मात्र समस्याको समाधान हुँदैन, ’आचार्यले भन्नुभयो । करको दायरामा नआएका व्यवसायीलाई करको दायरामा ल्याउन निजी क्षेत्रको नेतृत्व गर्ने संघ–संस्थाले अगुवाइ गर्नुपर्ने उहाँको भनाइ छ । भन्सार नगरी आएका सामान व्यवसायीले खरिद गर्न नहुने आचार्यले बताउनुभयो ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले परम्परागत प्रणालीबाट भइरहेको व्यापारमा सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले वैध व्यापारको लागत घटाउन सके अवैध व्यापार हटाउन सकिने बताउनुभयो । ‘भैरहवा भन्सारको कुरा हेर्ने हो ९० प्रतिशत बढी व्यापार भारतसँग रहेको छ । सीमा नाका (भन्सार कार्यालयहरु) धेरै भए सबै सुविधा पुर्याउन सकिदैन, ’उहाँले भन्नुभयो । सीमा क्षेत्रमा धेरै जनसंख्या रहेको उहाँको भनाइ छ ।
नेपाल भन्सार एजेण्ट संघ, रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थीले भन्सारमा जनशक्तिको अभाव रहेको बताउनुभयो । उहाँले कर्मचारीको छिटोछिटो सरुवा हुनु पनि समस्या भएको बताउनुभयो । उहाँले एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माण भएपछि विभिन्न समस्याहरुको समाधान हुने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति राजेश कुमार अग्रवालले लामो लाईनका कारण उद्योगमा आउने कच्चा पदार्थका लागि ३–४ दिन पर्खिनुपरेकोले बेलहियाबाहेक अन्य नाकाबाट सामान आयात गर्न बाध्य भएको बताउनुभयो । उहाँले भन्सार कार्यालयले कार्यालय समय अवधि बढाउन सके यो समस्या समाधान हुने बताउनुभयो । ‘बिना रेलको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) अधुरो हुन्छ, ’अग्रवालले भन्नुभयो–‘औद्योगिक विकासका लागि जसरी पनि रेलसहितको आईसीपी आवश्यक हुन्छ ।’
नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गणेश अधिकारीले भन्सार कार्यालयले सामानको भन्सार मात्रै नभइ राजस्व चुहावटको विषयलाई पनि हेर्नुपर्ने बताउनुभयो । उहाँले व्यवसायीलाई झण्झटिलो नहुने गरी समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले तस्करीलाई रोक्नुपर्ने बताउनुभयो । तस्करीका कारण उद्योग र व्यवसाय पूर्ण रुपमा सञ्चालन हुन नसकेको उहाँको भनाइ छ । तस्करी रोकिए उद्योग व्यवसाय फस्टाउने उहाँले बताउनुभयो ।
संघका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्माले सीमावारीको बजार सुनसान र सीमापारीको बजार गुल्जार रहेको बताउनुभयो । उहाँले भन्सार छलेर अनाधिकृत रुपमा हुने व्यापारले राजस्व गुम्नुका साथै स्वदेशबाट पैसा पनि बाहिरिएको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले बेलहिया नाकाबाट पर्यटकसँग अतिरिक्त कर लिइरहेको र अन्तर्राष्ट्रिय रुपमा यसले कस्तो सन्देश जान्छ भन्दै उहाँले प्रश्न गर्नुभयो ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष तथा चेम्बर अफ कमर्श, रुपन्देहीका पूर्वअध्यक्ष अनिल कुमार ज्ञवालीले न्यूनतम करमा सामानको भन्सार हुनुपर्ने बताउनुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरेले उद्योगमा जाने गाडीलाई ओभरलोडको नाममा टाफिक प्रहरीले दुई हजार रुपैयाँ जरिवाना तिराएर समस्याको समाधान हुन्छ भन्दै उहाँले प्रश्न गर्नुभयो । पर्यटन व्यवसायी संजय बजिमयले अवैध रुपमा भारतीय मदिराको आयातले स्वदेशी व्यवसायी मर्कामा परेको बताउनुभयो ।
पञ्चकन्या समूहका महाप्रबन्ध देवेन्द्र साहूले उद्योगलाई भन्सार कार्यालयले सहजीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्सार क्षेत्रमा लामो समयसम्म मालवाहक सवारीसाधन रोकिनुपर्ने अवस्था रहेको बताउनुभयो । भन्सार पास भइसकेपछि लामो लाइन लागेका कारण उद्योगमा समयमै सामान पुग्न नसकेको उहाँले बताउनुभयो ।
फस्ट च्वाईस फूड्स प्रा.लि., रुपन्देहीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अमर बस्यालले नेपाली आलुबाट उत्पादित फ्रेन्च फ्राइज अमेरिका निर्यात गरिरहेको बताउनुभयो । निर्यातका क्रममामा भैरहवा भन्सार कार्यालयबाट सहयोग पाइएको र सहजीकरण भएको छ । तर, सामान आयात गर्दा भने केही समस्या छ, ’उहाँले भन्नुभयो ।
कार्यक्रममा चेम्बर अफ कमर्श, रुपन्देहीका निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठ, पर्यटन व्यवसायी श्रीचन्द गुप्ता, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, उपाध्यक्ष दीपक घिमिरे, महासचिव प्रकाश न्यौपाने लगायतले बोल्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij