२०८२, माघ २१ गते

Feb 04 2026 | २०८२, माघ २१ गते

तिलोत्तमाका किसानको गोठमै पुगेर गाई भैंसीमा हुने बाँझोपनको उपचार

बिहिवार , माघ ८, २०८२

  • 697
    Shares
  • 697
    Shares
  • भैरहवा, ८ माघ । गाईवस्तुमा बाँझोपनको समस्या भएपछि यसको समाधान गर्न रुपन्देहीको तिलोत्तमाका पशु प्राविधिकले किसानको गोठमै पुगेर परीक्षण एवं उपचार थालेका छन् । तिलोत्तमा नगरपालिका पशु सेवा शाखाको प्राविधक सहयोग र भेटेरीनरी अस्पताल भैरहवाको समन्वयमा गाई भैंसीमा हुने बाँझोपनको परीक्षण तथा उपचार थालिएको हो ।

    पशु सेवा शाखा तिलोत्तमाका प्रमुख राजु कुँवर मगरका अनुसार किसानको गोठमै पुगेर गाईवस्तुको गर्भजाँच परीक्षण तथा उपचार थालिएको छ । पशुको बाँझोपन निवारणका लागि यो कार्य थालिएको उहाँले बताउनुभयो । यसरी परीक्षण गर्दा किसानलाई पशुमा गर्भ छ वा छैन भन्ने पत्ता लगाउन महिनौं कुर्न नपर्ने र बाँझोपन भएका पशुको उपचारमा सहज हुने उहाँले जानकारी दिनुभयो । उहाँले तीनपटक भन्दा बढी कृत्रिम गर्भाधान गर्दा पनि गर्भ नरहेका गाईमा यो परीक्षण गरिँदै आएको बताउनुभयो ।

    सो अवसरमा कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा वडा नम्बर–३ का अध्यक्ष कल्याण पौडेलले पशुहरुमा लागे रोग तथा उपचारसँगै बाँझोपनका विषयमा नगरपालिकाले खेलेको भूमिका सराहनीय रहेको उल्लेख गर्नुभयो । सो अवसरमा वडा सदस्य नारायण खत्री, विष्णु बहादुर थापा, चुडा कुमारी बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

    जानकीनगरबाट बुधबारदेखि गाईमा हुने बाँझोपनको परीक्षण सुरु गरिएको र तिलोत्तमा नगरपालिकामा परीक्षण गरिएको पशु चिकित्सक डाक्टर इन्द्रकला खत्रीले जानकारी दिनुभयो । पशु सेवा शाखाका प्राविधिकसहितको टोली र भेटरीनरी अस्पताल भैरहवाका प्रतिनिधि संयुक्त रूपमा किसानका गोठमै पुगेर परीक्षण तथा उपचार सुरु गरिएको र यो शिविर १ देखि १७ नम्बर वडामा सञ्चालन गरिने उहाँले बताउनुभयो ।

    पशु सेवा कार्यालयका प्रमुख राजु कुँवरमगरले नगरपालिकामार्फत वडामा संकलन गरेका बाँझोपन भएका गाईको तथ्यांकका आधारमा कार्यालयबाट प्राविधिकसहितको टोली गोठमै गएर बाँझोपनको निःशुल्क परीक्षण तथा उपचार गरिँदै आएको बताउनुभयो । बाँझोपन भएका गाईको परीक्षण गरी के कारणले भएको हो भन्ने पत्ता लगाएर उपचार प्रक्रिया अगाडि बढाउँदै आइएको र अन्य थप औषधोपचार गर्नुपर्ने भए किसानसँग सल्लाह गरी प्रक्रिया अगाडि बढाइने गरेको उहाँले बताउनुभयो ।
    सो टोलीमा वरिष्ठ पशु चिकित्सक डाक्टर लक्ष्मण घिमिरे, भेटरीनरी अस्पताल भैरहवाका वरिष्ठ डाक्टर परबेज आलम, पशु चिकित्सक त्रिविक्रम न्यौपाने, विनोद अर्याल, राधा महरा लगायतको उपस्थिति थियो ।

    पशु शाखा प्रमुख राजु कुँवर मगरका अनुसार पशुमा विभिन्न किसिमका यौनजन्य रोग तथा दानापानी नमिल्दा बाँझोपनको समस्या आउने र उन्नत पशुमा बढी बाँझोपनको समस्या देखिने भएकाले नियमित पशुको गोबर परीक्षण गरी जुकाको औषधि खुवाउने, आहारा तथा दानामा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।