सोमवार , माघ ५, २०८२
काठमाडौं,५ माघ । तामाङ समुदायले आफ्नो नयाँ वर्षको रूपमा सोनाम ल्होसार पर्व देशभर हर्षोल्लासका साथ मनाएका छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरु भएको छ । यस वर्ष सर्प वर्ष पूरा गरी घोडा वर्षमा प्रवेश भएको हो । सोनाम ल्होसार तामाङ, ह्योल्मो लगायतका समुदायको प्रमुख सांस्कृतिक पर्व हो ।
यो पर्व माघ शुक्ल प्रतिपदाका दिन विभिन्न सांस्कृतिक कार्यक्रम, पूजापाठ, नाचगान र मिठाई तथा परम्परागत खानपिनका साथ मनाइन्छ । काठमाडौँको टुँडिखेल, बौद्धनाथ, स्वयम्भू क्षेत्रमा विशेष कार्यक्रमहरू आयोजना गरिएका छन् । नेपाल तामाङ घेदुङको आयोजनामा टुँडिखेलमा तीनदिने सांस्कृतिक महोत्सव शुरु भएको छ ।
पर्वका अवसरमा तामाङ समुदायका घरहरू सरसफाइ गरी नयाँ लुगा लगाउने, सेलरोटी, खुवा लगायतका परिकार बनाउने र आफन्तजनसँग शुभकामना आदानप्रदान गर्ने चलन छ ।
बौद्ध गुम्बाहरूमा विशेष पूजा र लामा नाचहरू प्रश्तुत गरिन्छ । सरकारले सोनाम ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । यस पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij