बुधवार , पौष ३०, २०८२
भैरहवा, ३० पुस । नेकपा (एमाले) ले रुपन्देही क्षेत्र नम्बर ३ बाट विश्वराज बराल ‘अनुप’ सहित नेता–कार्यकर्ताहरुको नाम उम्मेदवारमा सिफारिस गरिसकेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि क्षेत्रीय समन्वय समितिले बरालसहित ११ जनाको नाम सिफारिस गरेको थियो ।
प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र तथा जिल्लाबाट आएका सिफारिसमध्ये केही थपघट गरेर केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।
प्रदेश सचिवालय बैठकले क्षेत्रीय हुँदै जिल्ला कमिटीबाट सिफारिस भइ आएका नामहरूलाई हेरफेर तथा संशोधन गरी केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको प्रदेश सचिव लक्ष्मण आचार्यले जानकारी दिनुभयो ।
जिल्लाहरूबाट आएका नामहरूको समीक्षा गरी सन्तुलन मिलाउँदै सिफारिस गरिएको उहाँको भनाइ छ । प्रदेश कमिटीबाट ९ वटा निर्वाचन क्षेत्रका लागि एकल र अन्य क्षेत्रमा विकल्पसहितको नाम केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । क्षेत्र नम्बर ३ बाट उपाध्यक्ष विष्णु प्रसाद पौडेल, हरि प्रसाद अधिकारी, विश्वराज बराल ‘अनुप’, वासुदेव घिमिरे, अयोध्या थारु र सीता ढुंगाना काफ्लेको नाम केन्द्रीय कमिटीलाई सिफारिस गरिएको छ ।
को हुन् विश्वराज बराल ?
विश्वराज बराल ‘अनुप’ नामले परिचित हुनुहुन्छ । वि.सं. २०३४ सालमा साविक हशंपुर गाविस (हाल मादी गाउँपालिका–१२ मा जन्मनुभएका बराल रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ टिकुलीगढको स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ हाल एमाले लुम्बिनी प्रदेश कमिटीको सल्लाहकार हुनुहुन्छ । सरल स्वभाव, इमान्दार नेताको रुपमा परिचित बराल २०७४ सालको निर्वाचनमा रुपन्देही–३ (१) बाट लुम्बिनी प्रदेश सभा सदस्य पदको उम्मेदवार बन्नुभएको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको चुनावी गठबन्धन अन्तर्गत उहाँ माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएको थियो । बरालले १० हजार बढी मत प्राप्त गर्नुभएको थियो ।

त्यत्तिबेला प्रतिनिधि सभामा क्षेत्र नम्बर ३ मा एमालेका घनश्याम भुसाल र प्रदेश सभा क्षेत्र नम्बर ३ (२) मा एमालकै तुल्सी प्रसाद चौधरी निर्वाचित हुनुभएको थियो ।
बराल चुनावी मैदानमा होमिएर जीत हासिल गर्न नसके पनि उहाँले हार मान्नुभएन । निरन्तर क्रियाशील रहदै आउनुभएको छ । एमाले र माओवादीबीच पार्टी एकता भइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएपछि उहाँले आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिनुभयो । अफ्ठयारो परिस्थितिको सामना गर्न रुचाउने बराल तत्कालीन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरी ताजा जनादेशमा जानुपर्छ भन्ने कुरालाई समर्थन गर्नुभए । पूर्व माओवादी पृष्ठभूमिको भए पनि उहाँ ओलीकै विचारमा अडिग हुनुभयो । अर्थात त्यतिबेलादेखि नै पुष्पकमल दाहाल (प्रचण्ड) को साथ छोड्नुभयो । उहाँले एमाले लुम्बिनी प्रदेश कमिटीको अधिवेशनमा उपाध्यक्ष पदमा पनि प्रतिष्पर्धा गर्नुभएको थियो ।
यस्तो छ बरालको राजनीतिक यात्रा
वि.सं. २०४७ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्राकमा संगठित हुनुभएका बराल २०५३ सालमा चितवनको सप्तगण्डकी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रतिष्पर्धा गर्नुभएको थियो । उहाँले २०५५ सालदेखि भूमिगत पूर्णकालीन राजनीति शुभारम्भ गर्नुभएको थियो । बराल २०५७ सालमा अखिल क्रान्तिकारी चितवनको जिल्ला अध्यक्ष, २०५७ मै जिल्ला भेलाबाट उहाँ माओवादी चितवन जिल्ला सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यसपश्चात उहाँले २०५९ सालमा बुटवल–भैरहवा इञ्चार्ज, २०६३ सालमा नवलपरासी जिल्ला सचिव, २०६५ देखि २०६९ सम्म कपिलवस्तु जिल्ला सचिव, २०७० मा अवध (रुपन्देही, कपिलवस्तु, नवलपरासी) प्रदेश सदस्यको जिम्मेवारी बहन गर्नुभएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको बेला उहाँ एमाले रुपन्देही जिल्ला सचिव, त्यसपश्चात लुम्बिनी प्रदेश सचिवालय सदस्यको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij