२०८२, पौष २६ गते

Jan 10 2026 | २०८२, पौष २६ गते

सार्वजनिक खरिद ऐनमा संशोधन आवश्यक : अध्यक्ष सिंह

शुक्रवार , पौष २५, २०८२

  • 676
    Shares
  • 676
    Shares
  • भैरहवा, २५ पुस । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले निर्माण व्यवसायी आतंकित र एकदमै त्रासमय वातावरणबाट गुज्रिरहेको बताउनुभएको छ । उहाँले जेनजी विद्रोहबाट बनेको नागरिक सरकार र सरकारसँग आम जनताले राखेको अपेक्षा पूरा हुन नसकेको बताउनुभयो ।

    बिहीबार भैरहवामा आयोजित लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको १९ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष सिंहले मुलुकको समृद्धिको सम्वाहक निर्माण उद्योगी÷व्यवसायी भएको बताउनुभयो । हिजो पार्टी नेतृत्वले गरेको ज्यादतीबाट आम जनतामा निराशा छाएको र जेनजी विद्रोहपश्चात बनेको नागरिक सरकारको एकसय दिन बितिसक्दा पनि नागरिकले राखेको अपेक्षा पूरा नभएको उहाँले बताउनुभयो ।

    नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्री पदको जिम्मेवारी पाएपछि निर्माण क्षेत्रमा सही कदम चाल्ने आशा गरे पनि त्यसो हुन नसकेको बताउनुभयो । उहाँले हिजोकै शैलीमा राजनीतिक दलले सत्ताको दुरुपयोग गरे जस्तै घिसिङले स्टण्ट गरी प्रचार शैलीमा निर्माण व्यवसायीकाविरुद्ध भाष्य सिर्जना गर्नुभएको बताउनुभयो । अध्यक्ष सिंहले जेनजी विद्रोहबाट बनेको सरकारको म्याण्डेट र जनताको अपेक्षा बुझ्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गर्नुभयो ।

    निर्माण व्यवसायीलाई काम गर्ने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । खरीदको प्रकृतिअनुसार सार्वजनिक खरीद ऐनमा संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको भनाइ छ । पूर्वाधार कार्यलाई चलायमान बनाउन सार्वजनिक खरिद ऐनसहित अन्य ऐनलाई पनि समायोजन गरेर छाता ऐन बनाउनुपर्ने उहाँको भनाइ छ । मुलुुकलाई समृद्ध बनाउन निर्माण व्यवसायीले छाता ऐनको अपेक्षा राखेको उहाँले बताउनुभयो । स्थानीय तहबाट गैरजिम्मेवार रुपमा निर्माण व्यवसायको लाईसेन्स वितरण गरिएको उहाँले आरोप लगाउनुभयो ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले विधि, पद्दतिमा काम गरे समस्या नआउने बताउनुभयो । उहाँले दम्भ, घमण्ड त्यागेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । विकास निर्माणको अनुगमनका क्रममा विभिन्न कमीकमजोरी पाइएकोले ती कमजोरी सच्याउनुपर्ने उहाँको भनाइ छ । अधिकारसँगै सबैले आ–आफ्नो कर्तव्य पनि बुझ्नुपर्ने उपप्रमुख अधिकारीले बताउनुभयो ।

    लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीको अध्यक्ष मञ्जु भुसालले संघमा आबद्ध सदस्यहरुको क्षमता अभिवृद्धि गर्दै रचनात्मक कार्यमा सरिक गराएको बताउनुभयो । उहाँले समयको मागसँगै अगाडि बढ्न नसके समयले धेरै पछि पार्ने बताउनुभयो । निर्माण व्यवसायी एकजुट भइ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामा, उपाध्यक्ष टोपबहादुर रायमाझी, महासचिव रोशन दाहाल, पूर्व वरिष्ठ उपाध्यक्ष निकलोश पाण्डे, लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र राना, सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्का, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दु लगायतले बोल्नुभएको थियो ।

    mmmmn.jpg

    लुम्बिनी निर्माण व्यवसायी संघको अध्यक्ष मञ्जु भुसालको अध्यक्षता, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यता, संघको बुटवल शाखाका अध्यक्ष बुद्धिराज थापा तथा लुम्बिनी निर्माण व्यवसायी संघका महासचिव प्रितम रौनियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।