बिहिवार , पौष २४, २०८२
कवि गौरी तमूसँग चिनजान खासै पुरानो होइन । तैपनि घनिष्टताको सीमा छैन । ‘समैँ दर्बानी’ मुक्तकसंग्रह पढेपछि उनको साहित्यिक कुशलता बुझेको थिएँ । उनलाई गुरुङ साहित्यिक मञ्च, नेपालको संस्थापक अध्यक्षको हैसियतले समेत चिनेको हुँ । शिक्षण सेवामा समर्पित गौरीले उच्च शिक्षाका निम्ति गरिरहेको प्रयास, प्रयत्न र परिणाम पनि उल्लेखनीय नै छ ।
यतिबेला उनको ‘सैँप्रोल’ कवितासंग्रह हातमा परेको छ । हुन त पाण्डुलिपि पाएको थिएँ । पढेर आवश्यक सुझाव दिने अवसर गौरीले दिएकी थिइन् । छोटा, चोटिला र मर्मस्पर्शी कविताहरु पढेपछि मनमा अनेक तर्कहरु उब्जिएका थिए । समय, साधना र संघर्षले नै गौरीलाई कवि बनाएको थाहा लाग्यो ।
सैँप्रोल गुरुङ जातिसँग सरोकार राख्ने शब्द हो । अर्थात् प्रतिरोधको अर्थमा हामीले बुझ्न सक्छौं । यस कविता संग्रहमा महिला अस्तित्वसँगै गुरुङहरुको उत्पत्ति अनि आगो, मर्चा र जाँडको उत्पत्ति कहाँ र कसले गर्यो, मरेपछि गुरुङहरुको संस्कार कसरी गर्नुपर्छ, यो जातिका संस्कृति र भूगोलमाथि आक्रमण कसरी भइरहेको छ ? आदिवासी जनजातिका खास अधिकारहरुमाथि किन हस्तक्षेप र अपदस्थका श्रृङ्खला कायम छन् भन्ने विषयलाई उठान गरिएका छन् ।
कविले कवितामा विद्रोहका ज्वाला दन्काएकी छिन् । अधिकारको खोजीमा शाब्दिक राँको बालेकी छिन् । जातीय दमन र हिंसा गर्नेहरुमाथि अक्षरका जुलुस लगाएकी छिन् । सबैका अधिकारलाई सम्मान र सुरक्षित राख्नका निम्ति कवितामा दरा बिम्बहरु प्रस्तुत गरेकी छिन् । अक्षर, शब्दका लहरहरुमात्र छैनन् बरु उकुशमुकुशका कुहिनाहरु ठोक्किएका छन् कवितामा ।
‘प्रेम–मोक्ष’ शीर्षकको कवितामा उनी लेख्छिन्
छाडेर नछाडिने
बिर्सेर नबिर्सिने
दुखाएर नदुख्ने
मोक्ष प्राप्तीमा छ अब
मेरो प्रेम ।
सायद जीवन र प्रेमको अर्थ बुझ्न यो कविताको अंश काफी छ । हुन त यो कविताले वैराग्यताको अनुभूत गराउन सक्ला तर प्रेमको अर्थ बुझाउन र जीवनसँग आफूलाई दाँज्न अरु सन्देश दिनेछ ।
त्यति सजिलै
कहाँ सक्छौ तिमी
मेरो अस्तित्वबिना बाँच्न ?
‘बेपत्ता’ शीर्षकको कविताको अंश हो यो । जीवनको सार खोज्दैजाँदा माटोको भर ढुंगा र ढुंगाको भर माटो नै हो । पुरुषको सारथी महिला र महिलाको सारथी पुरुष नै होलान् । जो जे भए पनि एक्लै बाँच्छु भन्ने कोरा कल्पनाले सायद कल्पनामा नै विश्राम लिने छ । हरेकपल कसैको नै कसैको साथ, हात र गाथको आवश्यकता पर्छ नै । एक्लै बाँच्छु र संसारलाई हल्लाउँछु भन्ने सोंच नै अतिवादी सोच हो । भावना हो । विचार हो । समन्वय, सहकार्य र सहयात्रा नै जीवनको सार्थक रुप हो ।
‘आशा’ शीर्षकको कवितामा गौरी लेख्छिन्
निम्त्याउँदै अन्धकार
डुब्दैछ डाँडामाथि घाम
म
पर्खिरहेछु
सुनौलो विहानी ।
कविताको पूर्णअंश हो यो । सामान्य लाग्छ यो कविता । तर, यसमा उज्यालो कुरिरहेका मानिसका स्वर्णीम इच्छाहरु प्रष्टिएका छन् । उज्यालो देख्न पनि अँध्यारोको अनुभूत गर्नैपर्छ । दुःख भोगेकाले नै सुखका सास फेर्न सक्नेछन् । हामीले यसै युगमा अनेक पक्षहरु भोग्यौं र त यहाँ आइपुगेका छौं । थाहा छैन कतिञ्जेल पर्खिनुपर्ने हो उज्यालोका लागि सुनौलो विहानी ?
तर, किन हुन्न छोरीहरुको आफ्नै घर ?
‘घर’ शीर्षकको कवितामा गौरीले प्रश्नद्वारा परिवर्तनको आशा गरेकी छिन् । कविताको चोटिलो हरफले उत्तर दिनुपर्नेलाई नाजवाफ बनाएकी छिन् । मोदनाथ प्रश्रितद्वारा २०३३ मा प्रकाशित ‘नारी बन्धन र मुक्ति’ पुस्तकमा सोधिएको प्रश्न यतिबेला पनि कवि गौरीले सोधेकी छिन् । अंश र वंशका कुरा उठेका छन् । तर, समाधानका बाटाहरु पहेली बनेका छन् । कसले बुझाउला कवि गौरीको मन ? कसले देला उनले सोधेको प्रश्नको उत्तर ? धेरै महिलाहरुका साझा समस्या उठाएकी छिन् गौरीले ।
गुरुङ भाषा, सभ्यता, संस्कार, रहनसहन, चालचलन, रीतिरिवाजका जानकारमात्र होइन कवि गौरी, आफ्नै भेषभुसामा सजिएर दुनियाँलाई आफ्नो संस्कृृति सिकाउने गुरुमा समेत हुन् ।
कवि गौरीले संसार छाडिगएका आफ्नो बाउलाई यसरी सम्झिएकी छिन्
बोलाउने छैनन् अब
तिम्रो घरैअघिको बाटो काट्दा पनि
इष्टमित्रहरुले
र
पाउने छैन अब मैले
बाउ ! भनी सम्बोधन गर्न ।
कवि छोरीले सम्झनाका यी अक्षरहरु कुँदिरहेका बेला सायद आँखा ओभाना रहेनन् होला । बाबाप्रतिको नोस्टाल्जिया झल्किन्छ । धेरैले आमाका बारेमा कविता कोरेपनि बाबाप्रति श्रद्धाका शब्द कोर्ने कमै छोराछोरी हुने गर्छन् । बाबाको जिम्मेवारीलाई उतार्नेहरु कमै भेटिएका हुन्छन् । हुन त गौरीले कवितालाई दोस्रो प्रेम गरेकी छिन् । पहिलो प्रेम त आमालाई दर्शाएकी छिन् ।
पौने सय वटा कविताहरु सैँप्रोल कवितासंग्रहमा संग्रहित छन् । आफ्ना साहित्यिक अनुभवहरु समेत गरेर एकसय ६ पेजमा कवितासंग्रह टुङ्गिएको छ । इण्डीको इंकले प्रकाशन गरेको उक्त पुस्तक, आकारमा सानो भएपनि विचारले सघन छ । फराकिलो छ । समयको जवाफ खोजिरहेको यो कविता संग्रहको शीर्ष कविता ‘सैँप्रोल’ मा यसरी आफ्ना विचार प्रस्तुत गरेकी छिन् गौरीले
योग्यता
र
क्षमताको कसीमा
किन दिनुपरिरहन्छ
रिमै च्यो सैँप्रोलहरुले
अझै पनि अग्निपरीक्षा ?
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij