बिहिवार , पौष २४, २०८२
बुटवल, २४ पुस । रुपन्देहीको बुटवलमा मिग तथा टिग वेल्डिंग तालिमको सम्पन्न भएको छ । रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको सहयोग र बुटवल टेक्निकल इन्स्टिच्युटको आयोजनामा रूपन्देही आसपासका क्षेत्रमा मेकानिकलसँग सम्बन्धित उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि गत मंसिर २१ गतेदेखि सञ्चालन भएको २४ दिने (९६ घण्टे) तालिम समापन गरिएको छ ।
तालिमको मुख्य उद्देश्य सहभागीलाई सुरक्षित, गुणस्तरीय र उद्योगमैत्री वेल्डिङ सीपमा दक्ष बनाउनु रहेको रूपन्देही उद्योग संघले जनाएको छ ।
समापन कार्यक्रममा संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले तालिम सफलतापूर्वक सम्पन्न भएकोमा सहभागीहरूलाई बधाई र शुभकामना व्यक्त गर्नुभयो । उहाँले अहिलेको यो आधुनिक प्रविधिमा आधारित सीप निर्माण क्षेत्रमा अत्यन्तै आवश्यक भएको बताउनुभयो । यस्तो सीपले युवाहरूलाई रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न ठूलो सहयोग पुर्याउने उहाँले उल्लेख गर्नुभयो । रुपन्देही उद्योग संघले विभिन्न तालिम प्रदायक संस्थासँग सहकार्य गरेर विभिन्न विषयमा तालिमको आयोजना गर्दै आएको उहाँको भनाइ छ । यो कार्यक्रमले केवल रोजगारीको अवसर मात्र नभइ नेपालको स्वदेशी प्रविधिमा आधारित दिगो विकासको आधार निर्माणमा योगदान पुर्याउने अध्यक्ष पराजुलीले विश्वास व्यक्त गर्नुभयो ।
बुटवल टेक्निकल इन्स्टिच्युटका निमित्त कार्यकारी निर्देशक मानकाजी कुमालले तालिमको सिकाईस्तर प्रभावकारी बनाउन विटीआइको अधिकतम योगदान रहेको जानकारी दिनुभयो । अहिलेको यो प्रविधिको जमानामा नयाँ प्रविधिको बारेमा चासो राख्दै परिमार्जित हुनुपर्ने र औद्योगिक दक्ष जनशक्तिका लागि यस्ता सीप विकासका तालिमको महत्वपूर्ण योगदान रहेको उहाँले बताउनुभयो ।
प्रशिक्षक देवीप्रसाद भट्टराईले तालिमको उद्देश्य केवल सीप प्रदान गर्नु मात्र नभइ, सोच ,दृष्टिकोण र व्यवहारमा समेत परिवर्तन ल्याउनु रहेको बताउनुभयो । उहाँले सिकेको ज्ञानलाई निरन्तर अभ्यासमार्फत दक्षता र आत्मनिर्भरता हासिल गर्न प्रेरित गर्नुभयो ।
प्रशिक्षार्थीको एक्सिस इन्जिनियरिङका कमल भण्डारीले तालिमको प्रत्येक सेसन जानकारीमूलक र प्रेरणादायी रहेको भन्दै सिकाई वातावरण सहज, सहयोगी र उत्साहजनक भएको अनुभव सुनाउनुभयो । उहाँले अब यस सीपलाई केवल ज्ञानका रुपमा नभइ रोजगारी तथा स्वरोजगारको सम्भावनामा रूपान्तरण गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आधारभूत तालिमले प्रारम्भिक ज्ञान प्रदान गरे पनि व्यवसायिक क्षेत्रमा प्रतिस्पर्धी बन्न एडभान्स लेभलका विषयवस्तु सिक्न जरुरी रहेको धारणा राख्नुभयो ।
बुटवल टेक्निकल इन्स्टिच्युटकी निमित्त प्रशासकीय अधिकृत सम्झना सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा १२ उद्योगबाट सहभागी २० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij