२०८२, पौष २३ गते

Jan 07 2026 | २०८२, पौष २३ गते

‘साई ग्लोबल कप’ का लागि सम्झौता

मंगलवार , पौष २२, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, २२ पुस । रुपन्देही क्रिकेट संघको आयोजनामा आगामी माघमा जिल्लास्तरीय अन्तरकलेज टी–२० क्रिकेट टुर्नामेन्ट (साई ग्लोबल कप)–२०८२ हुने भएको छ । प्रतियोगिता सञ्चालनका लागि रुपन्देही क्रिकेट संघ र साई ग्लोबल कलेज, भैरहवाबीच सम्झौता भएको छ ।

    विगतमा कलेज आफैले सञ्चालन गर्दै आएको यो प्रतियोगिता पछिल्लो तीन संस्करणदेखि विद्यालयसँगको सहकार्यमा रुपन्देही क्रिकेट संघले सञ्चालन गर्दै आएको छ ।

    रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले साई ग्लोबल कप–२०८२ सञ्चालनका लागि दुवै पक्षबीच सम्झौता–पत्रमा हस्ताक्षर भएको हो । 

    आइतबार भैरहवास्थित संघको कार्यालयमा संघतर्फबाट अध्यक्ष थापा, उपाध्यक्ष धिरज अधिकारी क्षेत्री र कोषाध्यक्ष निरज प्रताप खाणले सम्झौतामा–पत्रमा हस्ताक्षर गर्नुभएको छ । त्यस्तै कलेजको तर्फबाट अध्यक्ष दिनेश मान अमात्य, प्रबन्ध निर्देशक मोती प्रसाद पौडेल र प्राचार्य लक्ष्मण ज्ञवालीले हस्ताक्षर गर्नुभएको छ ।

    सम्झौता अनुसार प्रतयोगिताको ‘टाईटल स्पोन्सर’ साई ग्लोबल कलेज रहेको छ । प्रतियोगिता सञ्चालनका लागि कलेजले ३ लाख रुपैयाँ उपलब्ध गराउने संघका अध्यक्ष हरि बहादुर थापाले जानकारी दिनुभयो । सम्झौता–पत्र हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले विगतमा कलेज आफैले प्रतियोगिता आयोजना गर्दा खर्च बढी आउने तर, खासै प्रभावकारी हुन नसकेको अवस्थामा संघसँगको सहकार्यले प्रतियोगिता प्रभावकारी भएको बताउनुभयो । कलेजले संघसँग सहकार्य गरेको भन्दै उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

    कलेजका अध्यक्ष अमात्यले प्रतियोगिता उत्कृष्ट रुपमा सञ्चालन गर्ने उद्देश्यले रुपन्देही क्रिकेट संघसँग सहकार्य गरिएको बताउनुभयो । उहाँले कलेजको प्रस्ताव स्वीकारेको भन्दै संघप्रति आभार व्यक्त गर्नुभयो ।

    कार्यक्रममा सहभागी लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले खेलकुदको विकासका लागि सरकारले काम अघि बढाएको बताउनुभयो । उहाँले थोरै लगानीमा पनि खेलकुदमार्फत बढी प्रतिफल प्राप्त गर्न सकिने बताउनुभयो । मन्त्री पाण्डेयले आगामी आर्थिक वर्षका लागि क्रिकेट खेलका लागि बजेट विनियोजन गर्दा रुपन्देही क्रिकेट संघसँग सहकार्य गरिने बताउनुभयो ।

    संघका अनुसार विभिन्न कलेजहरुलाई पत्राचार गरेर प्रतियोगिताको तयारी थालिएको छ । संघका अनुसार रुपन्देहीमा सञ्चालित सामूदायिक तथा संस्थागत कलेजका दर्जन बढी टीम प्रतियोगितामा सहभागी हुनेछन् । सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा प्रतियोगिता टी–ट्वान्टी फर्मेटमा खेलाइनेछ ।