शनिवार , पौष १९, २०८२
भैरहवा, १९ पुस । रुपन्देहीको ओमसतिया गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को हिउँदे अधिवेशन (१८ औं अधिवेशनको प्रथम बैठक) सम्पन्न भएको छ । चालू आर्थिक वर्षका लागि तयार गरिएका विभिन्न योजनाहरू संशोधन गर्ने उद्देश्यले आयोजित हिउँदे अधिवेशनको बैठकमा गाउँपालिकाको संशोधित बजेट तथा कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।
सभामा गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले चालू आर्थिक वर्षको संशोधित बजेट वक्तत्व प्रस्तुत गर्नुभएको थियो । उहाँले राजस्व तथा अनुदान प्राप्तीको लक्ष्य र पुस १५ गतेसम्मको खर्च विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रस्तुत गर्नुभएको विवरण अनुसार गाउँपालिकाले आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्वको लक्ष्य बढाएको छ । हालसम्मको पूँजीगत खर्चको अवस्था भने न्यून देखिएको छ ।
विवरण अनुसार पुस १५ गतेसम्म लक्ष्य अनुसारको राजस्व प्राप्त हुन सकेको छैन । संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण अन्तर्गत समानीकरण अनुदानमा ११ करोड ६६ लाख रुपैयाँ अनुमान गरिएकोमा ५ करोड ८३ लाख मात्र प्राप्त भएको छ । समपूरक अनुदानतर्फ ४० लाख र सशर्त आयोजनातर्फ १६ करोड ५ लाख अनुमान गरिएकोमा १० करोड २२ लाख २८ हजार रुपैयाँ मात्र प्राप्त भएको छ ।
त्यस्तै प्रदेश सरकार अन्तर्गतको वित्तीय समानीकरणमा ८० लाख ७३ हजार अनुमान गरिएकोमा ४० लाख ३६ हजार ५ सय, सशर्त अनुदानमा १ करोड ५५ लाख अनुमान गरिएकोमा ५१ लाख १५ हजार र समपूरक अनुदानमा ७५ लाख अनुमान गरिएकोमा २४ लाख ७५ हजार रुपैयाँ मात्र प्राप्त भएको जानकारी गराइएको छ ।
गाउँपालिकाले आन्तरिक स्रोततर्फ ३ करोड ८७ लाख अनुमान गरेकोमा पुस १५ सम्म १ करोड ३७ लाख २० हजार रुपैयाँ संकलन गरेको छ ।
बजेट कार्यान्वयनको पाटो हेर्दा गाउँपालिकाको खर्च सन्तोषजनक देखिएको छैन । चालू आर्थिक वर्षमा चालू खर्च शीर्षकमा विनियोजित ३३ करोड ८ लाख ३४ हजारमध्ये ३० दशमलव ६८ प्रतिशत अर्थात् १० करोड १५ लाख १ हजार रुपैयाँ खर्च भएको छ । पूँजीगत खर्चतर्फ १७ करोड १२ लाख ८० हजार विनियोजन भएकोमा हालसम्म २ करोड ३८ लाख ६५ हजार रुपैयाँ अर्थात् १३ दशमलव ९३ प्रतिशत मात्र खर्च भएको छ ।
समग्रमा गाउँपालिकाको कुल खर्च २४ दशमलव ९६ प्रतिशत रहेको छ । उपाध्यक्ष चौधरीले आगामी समयका लागि आन्तरिक स्रोतको अनुमानमा ३० लाख रुपैयाँ वृद्धि गर्दै कुल बजेट ५० करोड ५१ लाख १४ हजार २ सय १२ रुपैयाँ कायम हुने गरी संशोधित अनुमान प्रस्तुत गर्नुभएको थियो ।
गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) ले गाउँपालिकाको समग्र विकास गतिविधिबारे प्रकाश पार्नुभयो । उहाँले उपभोक्ता समितिहरूसँगको सम्झौता र खर्चको अवस्था पूर्ण रूपमा सन्तोषजनक नरहे पनि स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारका नवीन पहलहरू भइरहेको बताउनुभयो ।
अध्यक्ष यादवका अनुसार गाउँपालिकामा हालसम्म ४८ वटा योजनामा उपभोक्ता समितिसँग सम्झौता भई काम सुरु भएको छ भने ३८ वटा योजना कार्यान्वयनको चरणमा र एउटा योजना प्रक्रियामा रहेको छ । उहाँले पूर्वाधार विकासका योजनाहरू कार्यान्वयन भइरहेको तथा गाउँपालिकाले स्वास्थ्य, शिक्षा, खेलकुद र कृषिको गुणस्तर सुधारलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाइरहेको जानकारी दिनुभयो ।
गाउँपालिकाका प्रशासकीय अधिकृत रुपा थापा राउतको सञ्चालनमा भएको गाउँसभाको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, प्रवक्ता मदन प्रसाद पोखरेलले मन्तव्य राख्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij