२०८२, पौष १८ गते

Jan 02 2026 | २०८२, पौष १८ गते

विगतमा राजनीतिक दलले केही राम्रा काम पनि गरेका छन् : मनिष झा

शुक्रवार , पौष १८, २०८२

  • 298
    Shares
  • 298
    Shares
  • भैरहवा, १८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले विगतका राजनीतिक दलहरुले केही राम्रा काम पनि गरिदिएको बताउनुभएको छ । उहाँले त्यही कारणले गर्दा आफूहरु अस्तित्वमा रहेको बताउनुभयो ।

    बिहीबार रुपन्देहीको भैरहवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रवक्ता झाले रास्वपाका लागि अवसर आएको तर, त्यो अवसरमा अनावश्यक दम्भ नराखी अनुशासनमा बस्नुपर्ने बताउनुभयो । उहाँले अनुशासनमा बसेर शालिनता र भद्रता कायम राख्न तथा गाली नगर्न नेता–कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो ।

    ‘उदाहरणका लागि निदर्लीयबाट बहुदलीय नभएको भए रास्वपा कहाँ दर्ता गर्नुहुन्थ्यो तपाई ? त्यो कसले गरिदियो ? हामी गरेको होइन, उहाँले भन्नुभयो–‘विगतमा त्यही नेताहरुले गरिदिनुभएको हो । निर्दलीयबाट बहुदलीय व्यवस्था आएपछि रास्वपा दर्ता हुन पायो ।’

    प्रवक्ता झाले पूराना दल तथा नेताहरुप्रति कृतज्ञता, सम्मान र आदर गर्नुपर्नेमा जोड दिनुभयो । ‘महेन्द्रनारायण निधि, गजेन्द्रनारायण सिंह, गणेशमान सिंह लगायत नेताहरु, शहीदहरु, जेलनेल बस्नेहरुप्रति कृतज्ञता राख्नुस्, उहाँहरुप्रति आदर र सम्मान राख्नुस् । तर, सबैभन्दा धेरै आफूसँग योजना राख्नुस्, ’उहाँले भन्नुभयो ।

    बागमती नदी फोहोर छ भन्ने सबैलाई थाहा भएको तर, फोहोर छ भनेर विरोध गरेर राजनीति गर्नुभन्दा अब कसरी सफाई गर्ने भन्ने योजना ल्याउनुपर्ने उहाँको भनाइ छ । ‘अबको राजनीति सफा गर्न योजना चाहियो । विरोधको राजनीति यति वर्षसम्म भयो । अब त्यो चल्दैन, अब योजना चाहिन्छ, खोला फोहोर छ भन्ने कुरा सबैलाई थाहा छ, सफा गर्ने योजना चाहियो । शालिनता, भद्रताका साथ योजना हुनुपर्छ, ’उहाँले भन्नुभयो ।’

    विघटित प्र्रतिनिधि सभाका सदस्य समेत रहनुभएका झाले पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा गल्ती भएको स्वीकार गर्नुभएको छ । ‘उम्मेदवारका आकांक्षीहरुको प्राइमरी इलेक्सन (प्रतिष्पर्धा) भयो । उम्मेदवार हुनुअघि निर्वाचन पनि भयो । तर, त्यसपछि बालेनजी शाहजीसँग कुरा मिल्यो, उहाँको ४० जनाको सूची यस्तो समयमा आयो कि उहाँसँग छलफल, तर्क र वितर्क गर्ने हामीलाई समय नै भएन । अन्तिम चरणमा उहाँको सूची आउँदै गर्दा सँगसँगै सूची बुझाउन निर्वाचन आयोगको फोन आउन थालिसकेको थियो । हामीले त कतिपय व्यक्तिहरुको नाम लेखेर उहाँहरुको सूची भोलिपल्ट प्रकाशित भइसकेपछि र समाचार आइसकेपछि बल्ल थाहा पायौं । राती ९ बजे कुलमान घिसिङ्गजीकोतर्फबाट सूची आयो, ’उहाँले भन्नुभयो ।

    उहाँले गलत नियतका साथ सूची नबुझाइएको स्पष्ट पार्नुभयो । ‘शतप्रतिशत काम गर्न पाएको भए यस्तो अवस्था आउनेथिएन, नियत गलत भएको भए पुराना नाम पनि सूचीमा हुनेथिएन्, ’प्रवक्ता झाले भन्नुभयो ।

    कार्यक्रममा रास्वपा रुपन्देहीका सभापति डा. बुद्धि प्रसाद शर्माले मुलुकलाई सामाजिक, आथिक रुपान्तरणमा लैजाने अभियानमा रास्वपा अगाडि बढेको दावी गर्नुभयो । उहाँले पार्टीप्रति नागरिकको आशा–भरोशा बढेको बताउनुभयो ।

    कार्यक्रममा नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य संजय कुमार गुप्ता, पार्टीको प्रदेश सल्लाहकार एवं राष्ट्रिय महिला आयोगकी पूर्व सदस्य धनेश्वरी चौधरीसहित कार्यकर्ताहरु रास्वपामा प्रवेश गर्नुभएको थियो ।

    पार्टी प्रवेश गरेपछि बोल्दै नेता गुप्ताले रास्वपामा आउँदा खुसी लागेको बताउनुभयो । उहाँले राष्ट्र निर्माणका लागि ईट्टा थप्न पवित्र कर्मले निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘हिजो म कहाँ थिए, त्यो इतिहास भइसकेको छ । अबको दिनमा दिनरात नभनी एकताका साथ लाग्नेछौं ।’

    त्यस्तै नेतृ चौधरीले पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो । उहाँले रास्वपाको नीति, विचार मन परेकोले पार्टी प्रवेश गरेको बताउनुभयो ।

    कार्यक्रममा रास्वपा रुपन्देहीका सभापति डा.बुद्धि प्रसाद शर्मा, जिल्ला सचिव विष्णु पौडेल, क्षेत्र नम्बर १ का सभापति मोहन विक्रम जि.सी. लगायतले मुलुकलाई सामाजिक, आथिक रुपान्तरणमा लैजाने अभियानमा रास्वपा अगाडि बढेको बताउनुभयो । उहाँहरुले पार्टीप्रति नागरिकको आशा–भरोशा बढेको बताउनुभयो ।