२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुटवलमा निषेधाज्ञा व्यवस्थापन गर्न समन्वय समिति गठन

बुधवार , बैशाख १५, २०७८

बुटवल, १५ वैशाख ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नयाँ भेरिएण्टको कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि वैशाख १६ गतेदेखि हुने निषेधाज्ञालाई व्यवस्थित र प्रभावकारी बनाउन निजी क्षेत्र र सामाजिक संघ संस्थासंग समन्वय गर्ने भएको छ । 
जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञा बमोजिम बुटवलमा पनि लागु हुने गरी व्यवस्था मिलाइएको छ । भने अतिआवश्यकीय सामाग्रीहरुको सहज आपूर्तिका लागि उपमहानगरमा रहेका निजी क्षेत्र र सामाजिक संघ–संस्थासंग सहकार्य गर्ने गरी मापदण्ड बनाएको छ । 

अतिआवश्यक खाद्यान्न, ग्याँस, तरकारी, फलफूल र दुध लगायत दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउने गरी संघ–संस्थाहरुसंग सहकार्य गर्ने निर्णय भएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए । 

निषेधाज्ञा अवधिभर अतिआवश्यक वस्तुहरुको ढुवानी सहजताको लागि बुटवल उद्योग वाणिज्य संघ र रुपन्देही व्यापार संघले समन्वय तथा सहजीकरण गर्ने निर्णय भएको प्रमुख सुवेदीको भनाइ छ । जनस्वास्थ्यको संवेदनशिलता र स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै अत्यावश्यक वस्तुको अभाव हुन नदिने गरी व्यवस्था मिलाइएको प्रमुख सुवेदीले बताए ।

विवाहमा स्वास्थ्य सुरक्षा अपनाइएका १५ जना मात्रै

विवाह/ब्रतवन्ध/पूजाआजा वा अन्य संस्कारका लागि बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डको पालना गर्ने गरी नजिकको प्रहरी इकाइसंग समन्वय गरी आफ्नै निवासमा सम्पन्न गर्न सकिने व्यवस्था मिलाएको छ । विवाहका लागि बढीमा २ वटा साना गाडी वा १ वटा ठूलो गाडीमा जम्मा १५ जना संख्या नबढ्ने गरी शुभ विवाहको ब्यानर राखी विवाहका निम्ती जान आउन सकिने छ ।

उपमहानगर कार्यालयमा अत्यावश्यक सेवाप्रवाह मात्रै

उपमहानगरमा स्वास्थ्य, सुरक्षा, खानेपानी, विद्युत, टेलिकम, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अत्यावश्यक सेवाहरु भने नियमित रुपमा सञ्चालन हुने गरी व्यवस्था मिलाइएको बुटवल उपमहानगर अनुगमन समिति संयोजक एवं उपप्रमुख गुमादेवी आचार्यले बताइन् । अत्यावश्यक यी कामबाहेकका अन्य दैनिक कार्यालयका काम तथा सेवा प्रवाह भने यो अवधिमा स्थगन गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले जानकारी दिए । अत्यावश्यक सेवा प्रदायक कार्यालयका कर्मचारी परिचयपत्रका आधारमा कार्यालय आवतजावत गर्न सक्नेगरि व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत रेग्मीको भनाइ छ ।

स्वास्थ्य मापदण्ड अपनाएर बैंक खुल्ने

बैंकहरु आवश्यकता र मानवीयताका आधारमा अति संवेदनशील क्षेत्रमा सुरक्षा तथा स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड पुरा गरी सेवा उपलब्ध गराउन सक्ने गरी व्यवस्था मिलाइएको छ । बैंकहरुको सेवाप्रवाहलाई स्वास्थ्य सुरक्षाको पूर्ण ग्यारेन्टीसहितको व्यवस्था मिलाउने र त्यसको समेत बेलाबेलामा अनुगमन गरिने भएको छ ।

औद्योगिक प्रतिष्ठानलाई नयाँ मापदण्ड

औद्योगिक प्रतिष्ठानहरु र विकास निर्माणहरुमा हुन सक्ने सम्भावित संक्रमण नियन्त्रण तथा त्यहाँबाट हुन सक्ने संक्रमण विस्तारलाई रोकथाम गर्न सुरक्षा तथा स्वास्थ्य सम्बन्धी नयाँ मापदण्ड बनाइएको छ । यसअनुसार श्रमिक र अन्य जनशक्तिहरु अनिवार्य रुपमा कार्यस्थलमै रहनुपर्नेछ । उनीहरुलाई खानाको व्यवस्था कार्यस्थलमै गरिदिनुपर्ने, बाहिर जान र बाहिर रहेका परिवार लगायत अन्य कुनै व्यक्तिसंग सम्पर्क गर्न यो अवधिमा पाइने छैन ।

कार्यस्थलमा पनि व्यक्ति, व्यक्तिबीचको भौतिक दुरी कायम राख्ने र स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गर्नुपर्नेछ । सबै श्रमिकहरुको दैनिक ज्वरो, स्वास्थ्य जाँच गर्ने र माक्स, सेनिटाइजर तथा साबुन पानीको प्रयोग गर्ने । एम्बुलेन्स तयारी अवस्थामा राख्ने व्यवस्था गर्नुपर्नेछ । त्यसरी काम गर्ने कुनै कामदार संक्रमित भएमा स्वयं उद्योगले नै आइसोलेसनको व्यवस्था मिलाउनु पर्नेछ । थप स्वास्थ्य जटिलता भएमा सम्बन्धित स्वास्थ्य संस्थामा सूचना गर्नुपर्नेछ । उक्त कार्यको प्रभावकारी रुपमा अनुगमन गरिने भएको छ ।

कालोबजारी गरे कारवाही

आदेशको उल्लघंन गर्ने, आदेशको पालना गर्ने कार्यमा अवरोध गर्ने, औषधी–औषधीजन्य सामग्री अत्यावश्यक उपभोग्य बस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरु उपर कानून बमोजिम कारवाही हुने भएको छ ।

निषेधाज्ञामा के के गर्न पाइँदैन ?

निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरु घरबाहिर ननिस्कने । जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन नगर्ने । कुनै पनि भेला भिडभाड गर्न, जात्रा सञ्चालन गर्न, महोत्सव सभा जुलुस नगर्ने । सबै प्रकारका सभा, पार्टीप्यालेस, सिनेमा हल, सेमिनार, तालिम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टल स्टोर, सपिङ्ग मल, व्युटिपार्लर र स्वीमिङ्ग पुल, स्पा, संग्रहालय, पुस्तकालय, समुहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन नगर्ने । परम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पुजा बाहेकका सम्पूर्ण धार्मिक सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट नगर्ने । शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्युसन सेन्टर लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन नगर्ने । 

यस जिल्लाबाट अन्यत्र जिल्लाका लागि छुट्ने सार्वजनिक तथा निजी सवारीसाधन नचल्ने, पूर्व–पश्चिम राजमार्गबाट वारपार गर्ने बाहेक यस जिल्लामा अन्तिम स्टप विन्दु भई अन्य जिल्लाबाट आउन निषेध गरिने । होटल/रेष्टुरेण्ट/पार्टी प्यालेस सञ्चालन नगर्ने ।
शान्ति सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार, भन्सार, क्वारेण्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा सञ्चालन बन्द गर्ने ।