२०८२, माघ १ गते

Jan 15 2026 | २०८२, माघ १ गते

एक हजार भन्दा बढी थान ग्यास सिलिण्डर नष्ट

बिहिवार , पौष १७, २०८२

  • 892
    Shares
  • 892
    Shares
  • भैरहवा, १७ पुस । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर १ चिलिहयास्थित त्रिशुल ग्यासँ प्रा.लि.मा १ हजार १२ थान एल.पी. ग्यास सिलिण्डर नष्ट गरिएको छ । उपभोक्ताहरुको हितलाई मध्यनजर गरी प्रयोग हुन असुरक्षित देखिएका ग्यास सिलिण्डर बुधबार नष्ट गरिएको प्रा.लि.का प्रबन्धक देवी प्रसाद भुषालले बताउनुभयो ।

    उद्योगमा रहेको त्रिशुल ब्राण्डको लोगोअंकित ग्यास सिलिण्डरहरु स्क्रयाप गर्ने निर्णय अनुसार नष्ट गरिएको भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार २०७७ सालमा एभरेष्ट ग्यास संसार अन्तर्गतको त्रिशुल ग्यास प्रा.लि.ले त्रिशुल ग्यास ब्राण्डको १ हजार १५ थान सिलिण्डर नष्ट गरिएको थियो ।

    ‘सुरक्षित र सर्वसुलभ तरिकाले सिलिण्डर उपभोक्ताको भान्सासम्म पुर्याइ उपभोक्ताले प्रयोग गर्दा पनि उपभोक्ताले प्रयोग गर्दा पनि उच्च सतर्कताका साथ सबै अन्तर्राष्ट्रिय एल.पी. ग्यास सिलिण्डरका मापदण्डहरु पूर्ण रुपले पालना गर्दै एभरेष्ट ग्यास संसार अन्तर्गतका उद्योगहरुका म्याद गुज्रिएका, विभिन्न कारणबाट लिकेज भएका, प्वाल परेका, फुट्रिङ, नेकरिङ्ग, हाइड्रो टेष्टमा फेल भएका, बिग्रिएका र प्रयोग गर्न उपयुक्त नदेखिएका सिलिण्डरहरुलाई नष्ट गर्ने गु्रपको नीति रहेको छ, ’उहाँले भन्नुभयो ।

    एभरेष्ट ग्यास संसारले सातवटै प्रदेशमा आपूर्ति गर्न सकिने गरी देशभरका विभिन्न स्थानमा फरकफरक ब्राण्ड र नामबाट सातवटा एल.पी. ग्यास रिफिलिङ उद्योग सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो । काठमाडौं, इटहरीमा २/२ तथा हेटौडा, रुपन्देही र धनगढीमा १/१ वटा उद्योग रहेको उहाँले बताउनुभयो ।

    ‘पेट्रोलियम पदार्थ आफैमा प्रज्वनशील पदार्थ हो, त्यसमध्येमा पनि एल.पी. ग्यास अति नै प्रज्जवनशील पदार्थमा पर्दछ । यस्तो वस्तु भारतका विभिन्न रिफाइनरीबाट आयात गरी उद्योगबाट रिफिल गरेर डिपोमार्फत आम उपभोक्तासम्म पुर्याउने र उपभोक्ताले भान्सामा सुरक्षित तवरले दैनिक प्रयोग गर्नु हाम्रा उद्योगहरुका लागि चुनौतिपूर्ण कार्य पनि हो, ’उहाँले भन्नुभयो ।

    नष्ट गरिएका ग्यास सिलिण्डरको बजार मूल्य २५ लाख रुपैयाँ रहेको उहाँले जानकारी दिनुभयो । उपभोक्ताको सुरक्षालाई ध्यानमा राखी यस किसिमको कार्यक्रम आगामी दिनमा पनि गर्ने उहाँको भनाइ छ । ग्यास सिलिण्डर नष्ट गर्ने क्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, सरकारी निकायका प्रतिनिधि, उद्योगका कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।