बुधवार , पौष १६, २०८२
भैरहवा, १६ पुस । माइती नेपाल आवधिक गृह भैरहवा, रुपन्देहीले एक वर्षको अवधिमा सीमा नाकाबाट २०१ जनाको उद्वार गरेको छ । संस्थाले सन् २०२५ को डिसेम्बरसम्ममा बेचबिखनको जोखिममा परेका २०१ जना महिला तथा बालबालिकाको नेपाल–भारत सीमा नाका बेलहियाबाट उद्वार गरेको हो ।
माइती नेपाल आवधिक गृह भैरहवाको प्रमुख माया क्षेत्रीका अनुसार उद्वार गरिएकामध्ये २६ जना रुपन्देहीका र अन्य सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, सिन्धुली, मकवानपुर लगायतका जिल्लाबाट छन् । ‘मानव बेचबिखन तथा ओसापसारको समस्यामा १८ देखि २५ वर्ष उमेर समूहका बढी रहेको पाइन्छ, क्षेत्रीले भन्नुभयो–‘पारिवारिक हिसाबले हेर्दा घरेलु हिंसाबाट प्रभावित र परिवारबाट सहयोग नपाएकाहरु बढी मात्रामा रहेको पाइन्छ ।’
त्यस्तै माइती नेपाल भैरहवाले भारतका विभिन्न ठाउँबाट ३ जनाको उद्वार गरेको छ । त्यस्तै सीमाबाट १२ हजार ८ सय ९५ जनालाई परामर्श, १ हजार १९ जनालाई जिल्ला प्रशासन कार्यालयबाट परामर्श र ७ हजार ४ सय ९० जनालाई पर्चापम्पलेट वितरण गरिएको छ ।
एक वर्षको अवधिमा खोजतलास सम्बन्धी २४ वटा निवेदन संस्थामा आएकोमा १२ जना फेला परेको क्षेत्रीले जानकारी दिनुभयो । त्यस्तै घरेलु हिंसा सम्बन्धी १० वटा निवेदन आएको छ । २ हजार ९ सय ९७ वटा सार्वजनिक यातायातमा चेकजाँच गरिएको र ४६ जनालाई सीमा नाका (बोर्डर) बाट सिधै घर फिर्ता गरिएको माइती नेपालले जनाएको छ । प्रमुख क्षेत्रीका अनुसार जनचेतनाको अभाव, लैंगिक विभेद, घरेलु हिंसा, धार्मिक तथा सामाजिक कुरीति, रोजगारीको अभाव, खुला सिमाना लगायत मानव बेचबिखनको जोखिममा पर्ने कारण हुन् ।
मानव बेचबिखनको जोखिमबाट बच्न जनचेतना अभिवृद्धि, आन्तरिक तथा सीमा क्षेत्रमा अनुगमन संयन्त्र निर्माण, भएका कानूनहरुको प्रभावकारी रुपमा पालना लगायत समाधानका उपायहरु भएको क्षेत्रीले बताउनुभयो ।
चेलीबेटी बेचबिखनलाई अन्त्य गर्ने अठोटका साथ माइती नेपाल वि.सं. २०४९ सालमा स्थापित भइ तत्पश्चात चेलीबेटी बेचबिखनविरुद्ध संघर्षरत एवं महिला तथा बालबालिकाको हकहितका लागि कार्यरत सामाजिक संस्था हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij