२०८२, पौष १६ गते

Dec 31 2025 | २०८२, पौष १६ गते

प्रकाश सपूतसँग झुम्मिए बुटवल मण्डपमा साँस्कृतिक प्रेमीहरु

बुधवार , पौष १६, २०८२

  • 205
    Shares
  • 205
    Shares
  • बुटवल, १६ पुस । पछिल्ला केही वर्ष नियमितजसो नेपाली सांगीतिक आकाशमा चम्किरहेका कलाकार हुन् प्रकाश सपूत । नेपाली सांगीतिक क्षेत्रमा अमूल्य र कर्णप्रिय गीतहरू एकपछि अर्को दिँदै आएका छन् उनले । पाका पुस्ता, वयस्क र नयाँ पुस्तालाई समेटेर गाउन सक्ने कलाकारको पहिचान बनाएका उनै कलाकार मंगलबार बुटवलका संगीतप्रेमीलाई रातीसम्म नचाए। 
    बुटवल मण्डपमा रुपन्देही उद्योग संघले आयोजना गरेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सवमा आएको उनले मंगलबार राती करिब २ घण्टा भरपुर मनोरञ्जन दिएका हुन् । केही दिनयता शीतलहरका कारण चिसो बढेको बुटवलमा राती अबेरसम्म खचाखच भरिएको बुटवल मण्डपको प्रागंणमा उनीसँग धेरैले नाचे र गाए । बुटवलसँग पुरानो सम्बन्ध भएको र कलाको आधार क्षेत्र भएकाले आफू निकै खुसी भएको व्याख्या गर्दै गाउन थालेका उनले हरेकजसो प्रस्तुतीमा सोही प्रकृतिको ड्रेसअप र नाच्ने सहकर्मीको टोलीलाई व्यवस्थापन गरेर धेरैको मन जितेका थिए ।

    11.jpg

     तीनै तहका पुस्तालाई समेट्ने गरी पालैपालो गीत गाएका उनले दर्शकलाई गाउन सिकाए, नाच्न सिकाए देशप्रतिको सद्भाव सिकाए, विभेदप्रति एकजुट हुन हौसाए र नेपाली गीत संस्कृतिलाई माया गर्न सहभागीलाई हौसाए । बाहिर शितलहरले बढिरहेको चिसो उनको साथमा सहभागी नाचेर गाएर हटाइरहेका थिए । मन्च तताउन र सहभागीलाई नचाउन पारंगत उनले आफूले जस्तोसुकै गरेपनि आलोचनाको शिकार हुनुपरेको भन्दै त्यसबाट सजग भएको पनि मन्चबाटै बताए । मंगलबार बिहानैबाट खचाखच भरिएको बुटवल रातीसम्म उस्तै थियो । ‘गलबन्दी च्यातियो तिम्ले तानेर’, ‘बोल माया’ र ‘बदला बरी लै १’ लगायतका गीतबाट धेरैको मन छुनेगरी गाए र नचाएका थिए । 

    सपुतका प्रस्तुतीले पछिल्लो समय नेपाली स्रोताको मन र मस्तिष्क दुवै हल्लाइरहेका छन् । हरेकजसो नेपालीका ओठमा उनका गीत झुण्डिएका छन् । धेरै मानिस आफ्ना सपनालाई मूर्त रूप दिन सारा जीवन समर्पित गर्छन् । जीवन बितेर जान्छ तर, पनि कतिपय अवस्थामा सपना अधुरै रहन्छ । सपुत भने यस मामलामा अपवाद सिद्ध भएका छन् । उनले छोटो अवधिमै आफ्नो सपनाको दुनियाँ अर्थात् सांगीतिक क्षेत्रमा हस्तक्षेपकारी उपस्थिति जनाएको प्रमाण बुटवलमा उनले पाएको साथले देखाएको छ । 

    संगीतको क्षेत्रमा उनी अहिले लोकप्रियताको शिखरमा उनलाई बुटवलले पनि साथ दिएको सहभागीले जनाएका छन् । अहिलेको प्रदर्शनीमा धेरैजसो कलाकारलाई सहभागीले यसैगरी साथ दिएको साँस्कृतिक उपसमिति संयोजक लालप्रसाद बस्यालले बताउनुभयो । प्रदर्शनीको बिहीबार दिउँसो समापन हुने मूल समितिका संयोजक कृष्ण पराजुलीले बताउनुभयो ।