२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

लुम्बिनी लायन्सको ट्रफी टूर रुपन्देहीमा, सिद्धार्थ रंगशालामा स्वागत

मंगलवार , पौष १५, २०८२

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, १५ पुस । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले लुम्बिनी प्रदेशमा सुरु गरेको च्याम्पियनसिप ट्रफी सेलेब्रेसन टुर रुपन्देही आइपुगेको छ । टुर गत पुस ५ गते बाँके र बर्दियाबाट सुरु भएको थियो ।

    मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा ट्रफी ल्याएर जीत उत्सव (सेलिब्रेसन) गरिएको हो ।  ट्रफी टुरको ११ औं दिन सिद्धार्थ क्रिकेट रंगशालामा स्वागत गर्न पाउँदा खुसी लागेको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले बताउनुभयो ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले एनपिएलको उपाधि विजेता लुम्बिनी लायन्सलाई प्रदेश सरकारले कार्यक्रम गरी ११ लाख रुपैयाँ प्रदान गर्ने बताउनुभयो । उहाँले विजेतालाई आर्थिक रकम प्रदानको घोषणा गर्ने लुम्बिनी पहिलो प्रदेश भएको बताउनुभयो ।

    लुम्बिनी लायन्सले उपाधि जित्दा खुसी लागेको र आगामी दिनमा सञ्चालन हुने प्रतियोगितामा पनि जित्ने विश्वास गर्नुभयो । ‘युवा, खेलाडी, गौतमबुद्ध र हिमालले विश्वमा नेपाललाई चिनाएको छ,’मन्त्री पाण्डेयले भन्नुभयो–‘थोरै लगानी गर्न सके खेलकुदको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सक्छौं ।’

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले लुम्बिनी लायन्सको जीतले प्रदेशबासी खुसी भएको बताउनुभयो । उहाँले रुपन्देही क्रिकेटको उर्वरभूमि भएको र यो जिल्लाले धेरै क्रिकेट खेलाडी उत्पादन गरेको बताउनुभयो ।

    नगर उपप्रमुख उमा अधिकारीले यस्ता प्रतियोगिताले खेलाडीमा उत्साह थप्ने बताउनुभयो । उहाँले सिद्धार्थ क्रिकेट रंगशालाको स्तरोन्नति र विकासमा पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

    लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भन्नुभयो–‘तपाईहरुको विश्वास, माया, समर्थन र सुझावले गर्दा च्याम्पियन बनेर यहाँ आएका छौं । यो ट्रफी तपाईहरुमाझ ल्याउन पाएका छौं । यसको सम्पूर्ण श्रेय तपाईहरुलाई नै जान्छ ।’ खेलाडी, व्यवस्थापकीय भूमिकामा रहनुभएका सम्पूर्ण व्यक्तित्व, प्रशिक्षक तथा नेपालको सान शक्ति गौचन, रोहित पौडेल लगायत सम्पूर्ण खेलाडीहरुको महत्वपूर्ण योगदान रहेको उहाँले बताउनुभयो । हार नमान्ने स्वभावका कारण लुम्बिनी लायन्सले जितेको उहाँको भनाइ छ ।

    एनपिएलको दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । ट्रफी सेलिब्रेसन कार्यक्रममा जनप्रतिनिधि, उद्योगी, व्यवसायी, खेलप्रेमी, सर्वसाधारण लगायतको उपस्थिति थियो ।

    नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले लुम्बिनी लायन्सको सफलता गर्वको विषय भएको बताउनुभयो ।