मंगलवार , पौष १५, २०८२
काठमाडौं, १५ पुस । नेपाली काँग्रेसका नेता मिनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै देश जलाउने लुसिफरहरुबाट आफूहरुमाथि खतरा नरहेको टिप्पणी गर्नुभएको छ ।
मंगलवार काठमाडौंमा मदन–आश्रित प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले समाजमा खतरा दुष्टको धृष्टताबाट नभइ सज्जनको निषेधबाट हुने जिकिर गर्नुभयो ।
उहाँले देश जलाउने लुसिफर र ठगी गरेर पपुलिजमको खेती गर्नेहरुसँग खासै डर नरहेको बताउनु भयो । विभिन्न नाटकको रुपमा गएर सिंहदरबार जलाउने, संसद भवन, सर्वोच्च, नेपालका लोकतन्त्रका लागि संघर्ष गरेका अनेकौँ धरोहरहरु जलाउनेहरुबाट पनि त्यत्ति डर नरहेको र यो क्षणिक हुने उहाँको भनाइ छ ।
उहाँले यो नेपालमा पटक पटक गरेको क्रान्ति, संघर्ष र आन्दोलनबाट प्राप्त गरेको उपलब्धिको समूल नष्ट गर्ने कुनै कुनाबाट चालेको अभियान भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले हामीले नेपालमा पटक पटक गरेको क्रान्ति, संघर्ष र आन्दोलनबाट प्राप्त गरेको उपलब्धिको समूल नष्ट गर्ने कुनै कुनाबाट चालेको अभियानको पात्र नेपाली काँग्रेस र नेकपा एमालेका सदस्य साथीहरु बनिरहनु त भएको छैन कतै कतै लाग्छ । समाजमा खतरा दुष्टको धृष्टताबाट छैन, सज्जनको निषेधले हुन्छ ।
आज यो देश जलाउने लुसिफरहरुबाट हामीलाई खतरा छैन । आज ठगी गरेर पपुलिजमको खेती गर्नेहरुसँग खासै डर छैन । आज विभिन्न नाटकको रुपमा गएर सिंहदरबार जलाउने, संसद भवन, सर्वोच्च, नेपालका लोकतन्त्रका लागि संघर्ष गरेका अनेकौँ धरोहरहरु जलाउनेहरुबाट पनि त्यत्ति डर छैन । यिनीहरु संसारभर नै क्षणिक हुन् ।’
नेता विश्वकर्माले भदौ २३ र २४ को घटना नेपाल र नेपालीको पक्षमा नभएको जिकिर गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij