मंगलवार , पौष १५, २०८२
भैरहवा, १५ पुस । नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष निर्मला शर्माले अहिलेको यो संविधानलाई लयमा ल्याउनका लागि पनि अबको निर्वाचन समयमा हुन आवश्यक रहेको बताउनुभएको छ ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीको ११ औं स्थापना दिवसको अवसरमा सोमबार गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित शान्ति पदयात्रापश्चात समारोहमा यस्तो बताउनुभएको हो ।
निर्वाचनलाई एकदमै भयरहित अवस्थामा सम्पन्न गर्नका लागि पत्रकारहरुले सत्यतथ्य समाचार सम्प्रेषण गरेर नेपालको लोकतन्त्रलाई बलियो बनाउन र संविधानलाई संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ ।
लुम्बिनी प्रेस क्लबको स्थापना दिवसको अवसरमा बुद्धको जन्मभूमि लुम्बिनीमा आयोजित शान्ति पत्रयात्रा कार्यक्रमले नेपालमा स्थायी शान्तिको लागि पनि पत्रकारहरुको भूमिका महत्वपूर्ण छ भन्ने सन्देश जाने बताउनुभयो । ‘नेपाल पत्रकार महासंघकोतर्फबाट म के भन्न चाहन्छु भने सबै पत्रकारले स्वतन्त्रतापूर्वक भयरहित अवस्थामा लेख्न पाउने अधिकारको सुनिश्चिता गर्नुपर्छ, ’उहाँले भन्नुभयो । उहाँले लुम्बिनी प्रेस क्लबले आयोजना गरेको तेस्रो लुम्बिनी न्यूज फेस्टिबल–२०८२ मा महत्वपूर्ण विषयमा छलफल भएको बताउनुभयो ।
अहिले मिडियामाथि ठूलो चुनौति रहेको उहाँले बताउनुभयो । ‘भ्रमपूर्ण समाचार दिनका लागि हामी उत्साहित हुनुहुँदैन । सत्यतथ्य समाचार सम्प्रेषणका लागि यहाँहरुका कलमहरु अगाडि बढ्छ भन्ने मलाई लाग्छ । सत्यतथ्य समाचार प्रकाशन÷प्रशारण गर्दा त्यसले त्यति नै लोकतन्त्रलाई बलियो बनाउँछ र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चिता हुन्छ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij