२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

उच्च शिक्षाको सम्भावना र चुनौती विषयक अन्तरक्रिया

सोमवार , पौष १४, २०८२

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, १४ पुस । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले दोस्रो स्थापना दिवस ‘उच्च शिक्षाको सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरी मनाएको छ । 

    कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा.डा.लेखनाथ शर्माले कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक शर्माले विश्वविद्यालयको शिक्षाले भविष्यमा आवश्यक ज्ञान र सीप प्रदान गर्न सक्ने सम्भावनामा शंका उठिरहेको हुनाले उच्च शिक्षाको अवधारणामा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो । 

    सन् २०२३ बाट एआईका कारण उच्च शिक्षामा नयाँ प्रकारको चुनौती आइरहेको विश्लेषण गर्दै शर्माले एआईलाई ज्ञानको स्रोतको रुपमा नभइ ज्ञान उत्पादनको साधनको रुपमा प्रयोग गर्नुपर्ने बताउनुभयो । पहिले शिक्षा सार्वजनिक विषय र सेवाको क्षेत्र रहेको उल्लेख गर्दै शर्माले अहिले शिक्षा विक्रीको वस्तु र विश्वविद्यालयहरु कर्पोरेट हाउस जस्तै बनेको हुँदा उच्च शिक्षा सुधार्न राज्यदेखि समाजसम्मको भूमिका रहने उल्लेख गर्नुभयो । 

    कार्यक्रममा कार्यपत्रमाथि शिक्षाविद् प्राध्यापक आनन्दमान शाक्य, सिद्धार्थ इन्टरनेशनल कलेजका रामप्रसाद खरेल, अध्यापक डा. प्रकाश शर्मा, क्यानन् माविका प्रिन्सिपल शंकर भण्डारी, रुपन्देही लीलाराम माविका प्रधानाध्यापक रुप कुमार रायमाझी, अध्यापक रोम शर्मा, मेघराज शर्मा, माधव पौडेल, अधिवक्ता गोविन्द मरासिनी, तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य रवि सेञ्चुरी, वन तथा वातावरण विज्ञ दामोदर शर्माले कार्यपत्रमाथि विचार राख्नुभएको थियो । 

    अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका क्याम्पस प्रमुखहरु, शिक्षाविद्, प्राध्यापक, लेखक, बुद्धिजीवीको सहभागीता थियो। इन्टिग्रेटेड एकेडेमी लुम्बिनी प्रदेशमा बि.एस्सी.फरेष्ट्री अध्यापन गर्ने एकमात्र कलेज रहेको प्रमुख प्रशासकीय अधिकृत प्रकाश अधिकारीले जानकारी दिनुभयो । 

    एकेडेमीका डाइरेक्टर पुरन खड्काको अध्यक्षता, एकेडेमिक कोअर्डिनेटर रामचन्द्र श्रेष्ठको सञ्चालन तथा सञ्चालक समिति सदस्य सन्दिप कसौधनको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । एकेडेमीमा पूर्वाञ्चल विश्वविद्यालयको पाँचवर्षे बी.ए.एल.एल.बी. समेत अध्यापन हुन्छ ।