२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

दुई सातामै कोरोना संक्रमितको संख्या सात गुणा बढी, स्थिती भयावह बन्ने संकेत  

बुधवार , बैशाख १५, २०७८

काठमाडौं, १५ वैशाख।

दुई सातामै कोरोना संक्रमितको संख्या सात गुना बढीले वृद्धि भएको छ। नयाँ वर्ष–२०७८को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको थियो। 

उक्त संख्या दुई सातापछि आज बढेर ४ हजार ५ सय २४ पुगेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको छ। 

दुई साताअघि ४ हजार २ सय ८९ जनाको पिसिआर परीक्षण तथा ४ सय ५१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो। पछिल्लो २४ घण्टामा १४ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण तथा एक हजार ९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्। 

दुई साता अघिसम्म पिसिआर परीक्षण गराउनेको संख्या २२ लाख ३६ हजार ५ सय २६ पुगेको थियो। हाल उक्त संख्या २४ लाख ३२ हजार ८९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हाल ५८ जना मात्र क्वारेन्टिनमा रहेका छन्। 

मन्त्रालयका अनुसार हालसम्म २ लाख ७८ हजार ५ सय ६ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा मात्र देशभरबाट ५ सय ५५ संक्रमित निको भएर घर फर्किएका छन्। दुई साताअघि देशभर ४ हजार ५६ सक्रिय संक्रमित रहेकामा हाल उक्त संख्या बढेर २६ हजार २ सय २५ पुगेको मन्त्रालयले जनाएको छ।

दुई सातामा काठमाडौँ उपत्यकामा पनि कोरोना संक्रमितको संख्या सात गुना बढीले वृद्धि भएको छ। दुई साताअघि संक्रमिको संख्या काठमाडौँ उपत्यकामा २ सय ५४ रहेको थियो। पछिल्लो २४ घण्टामा उपत्यकामा संक्रमितको संख्या बढेर १ हजार ९ सय ६६ पुगेको छ। 

दुई साताअघि संक्रमितको संख्या काठमाडौँमा १ सय ७३, ललितपुरमा ६१ तथा भक्तपुरमा २० रहेको थियो । हाल काठमाडौँमा १ हजार ६ सय २, ललितपुरमा २ सय ४० तथा भक्तपुरमा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।