आइतवार , पौष १३, २०८२
भैरहवा, १३ पुस । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धन तथा सीमापार समाचारका मुद्दामा बहस गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनमिा तेस्रो समाचार महोत्सव (लुम्बिनी न्युज फेष्टिवल) सुरु भएको छ ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीको आयोजनामा तीनदिन सञ्चालन हुने महोत्सवमा नेपाल र भारतका सञ्चारकर्मीको सहभागीता छ । यसअघि २०७६ र २०८० सालमा फेस्टिबल आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाल र भारतका विभिन्न सञ्चारमाध्यमा कार्यरत पत्रकारहरुको सहभागीता छ । कार्यक्रममा छिमेकी मुलुक भारतबाट ४० जना पत्रकार सहभागी भएका छन् । काठमाडौंबाट आधा दर्जन अग्रज पत्रकार सहभागी भएका छन् । कार्यक्रममा भारतको सिक्किम, नयाँ दिल्ली, लखनउ, अयोध्या, काशी, गोरखपुर, महाराजगन्जबाट स्थानीय र राष्ट्रियस्तरका पत्रकार सहभागी छन् ।
पत्रकारिता क्षेत्रको विकास, लुम्बिनीको प्रबद्र्धन र यस क्षेत्रका मुद्दाहरुलाई राष्ट्रिय–अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले बताउनुभयो । ‘मुलुकको सुशासन, समृद्धि र पर्यटन क्षेत्रको विकासका पत्रकारहरुले निर्वाह गर्नुपर्ने भूमिकाबारे चर्चा गर्नका लागि कार्यक्रम गर्दैछौं ।’
आइतबार कार्यक्रमको उद्घाटन गर्नुहुँदै लुम्बिनी प्रदेशका मूख्यमन्त्री चेतनारायण आचार्यले कार्यक्रमले नेपाल र भारतको पर्यटकिय सम्भावना, साँस्कृतिक र धार्मिक सम्बन्ध बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउननुभयो । दुवै देशको सह–अस्तित्व स्वीकार गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले नेपालमा पर्यटनको ठूलो सम्भावना रहेको बताउनुभयो । लुम्बिनी, मुक्तिनाथ र स्वर्गद्वारीजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यले पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ छ । समृद्धि र विकासका लागि यस्तो सम्मेलन कोसेढुंगा सावित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले बुद्ध जन्मभूमि लुम्बिनीको पर्यटन, साँस्कृतिक र सामाजिक विकासमा फेस्टिबलका बहसले नयाँ दिशा दिने बताउनुभयो ।
नेपाल–भारतका सञ्चारकर्मी, पर्यटन व्यवसायी तथा सरोकारवालाको सहभागीतामा विभिन्न शिर्षकमा तीनवटा सत्र सञ्चालन हुने कार्यक्रम संयोजक दीपेन्द्र बड्वालले जानकारी दिनुभयो ।
कार्यक्रमको पूर्व संध्यामा शनिबार लुम्बिनीस्थित मायादेवी मन्दिरको अवलोकन गर्नुका साथै दीप प्रज्वलन समेत गरिएको थियो ।
कार्यक्रममा प्रेस काउन्सील, नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा लगायतले बोल्दै पत्रकारिताको समग्र विकासका लागि काम गर्नुपर्ने बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij