२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

नेपाल र चीनबीचको सम्बन्ध अझै सुदृढ बनाउनुपर्छ : उपसभामुख राना

आइतवार , पौष १३, २०८२

  • 502
    Shares
  • 502
    Shares
  • काठमाडौं, १३ पुस । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले नेपाल र चीनबीचको सम्बन्ध आपसी सम्मान र समझदारीमा आधारित रहेको बताउँदै यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

    नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष प्रवेशको अवसरमा वर्षभर आयोजित विविध कार्यक्रमहरूको समापनका सन्दर्भमा चिनियाँ दुतावासद्वारा आयोजित विशेष स्वागत समारोहमा उहाँले यस्तो धारणा राख्नुभएको हो । समारोहलाई सम्बोधन गर्दै उपसभामुख रानाले दुई देशबीचको सम्बन्ध सरकारी स्तरमा मात्र सिमित हुनु नहुने भन्दै जनस्तरमा पनि विस्तार हुनुपर्ने बताउनु भयो ।

    उहाँले व्यापार, लगानी र भौतिक पूर्वाधारका क्षेत्रमा दुवै देशबीच सघन सहकार्य हुनुपर्ने बताउँदै नेपालको विकास प्रयासमा चीनले गरेको सहयोगको सराहना गर्नुभयो । चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्वका रूपमा लिने बताउँदै उहाँले शान्तिपूर्ण सह–अस्तित्वका पाँच सिद्धान्तले यो मित्रतालाई बलियो आधार प्रदान गरेको उल्लेख गर्नुभयो ।

    प्राकृतिक सीमाका रूपमा रहेका हिमालयहरू कहिल्यै पनि सम्बन्धमा वाधक नबनेको बरु निकटता, साझा भाग्य र शान्तिपूर्ण सहअस्तित्वको प्रतिक बनेको उहाँको भनाइ थियो ।

    सोही अवसरमा नवनियुक्त चिनियाँ कार्यवाहक राजदुत चौ पानले नेपालको विकास साझेदारका रूपमा चीनले सक्दो सहयोग गर्दै आएको बताउनु भयो । उहाँले आर्थिक, वाणिज्य, कृषि, गरिबी निवारण, पर्यटन तथा युवा विकासलगायतका क्षेत्रलाई केन्द्रमा राखेर चीनले सहायता परिचालन गरिरहेको जानकारी दिनुभयो ।

    कार्यवाहक राजदुत चौले हालै चिनियाँ कम्युनिष्ट पार्टीले अनुमोदन गरेको १५ औँ पञ्चवर्षीय योजनामा नेपाललगायत छिमेकी मुलुकहरूको सामाजिक एवं आर्थिक विकासका कार्यक्रमहरू समावेश गरिएको जानकारी दिँदै दुवै देशका साझा चासो र लाभका लागि पारस्परिक साझेदारी अपरिहार्य रहेको बताउनु भयो । 

    वि.सं. २०१२ साउन १९ गते (सन् १९५५ अगष्ट ३) औपचारिक रूपमा कुटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै यो वर्षभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएका थिए । वर्षभरका कार्यक्रमहरूको समापनका रूपमा आयोजित यो विशेष समारोहमा नेपाल चाइना मिडिया फोरमद्वारा प्रकाशित पुस्तक, सञ्चारकर्मीका लागि चिनियाँ भाषा तालिम, चौथो सञ्चार सम्मेलन तथा विभिन्न सांस्कृतिक प्रदर्शनीहरूको चर्चा गरिएको थियो । समारोहमा चिनियाँ संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रमसमेत प्रश्तुत गरिएको थियो । 

    नयाँ जिम्मेवारी सम्हाल्न नेपाल आइपुग्नुभएका कार्यवाहक राजदुत चौ पानको निमन्त्रणामा आयोजित उक्त समारोहमा उपसभामुख, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, सरकारका विशिष्ट श्रेणीका अधिकारी, सुरक्षा निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रमा कार्यरत चिनियाँ नागरिकहरूको उपस्थिति थियो ।

    नेपाल सङ्घीयता, समावेशी विकास र दिगो विकासको बाटोमा अघि बढिरहेको सन्दर्भमा चीनलाई एक मूल्यवान साझेदारका रूपमा लिइएको र सम्बन्ध सधैँ समस्यारहित र सदाबहार रहेको कार्यक्रममा सहभागी वक्ताहरूले बताएका थिए ।