शनिवार , पौष १२, २०८२
भैरहवा, १२ पुस । जनसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा शनिबार भैरहवामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि शोभाकान्त नेपालले सहकारी संस्थाको सफलताका लागि शेयर सदस्यको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सहकारी संस्थालाई सक्षम, पारदर्शी र सफल बनाउन शेयर सदस्यहरूले सञ्चालक समितिमाथि नियमित खबरदारी, निगरानी र सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । शेयर सदस्य सचेत र सक्रिय भए मात्र सहकारीको सुशासन कायम रहने उहाँको भनाइ थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष जनकराज पन्तले पछिल्लो समय केही सहकारी संस्थाले गरेको ठगीका घटनाका कारण सहकारीप्रति आम नागरिकको विश्वासमा कमी आएको उल्लेख गर्नुभयो । यद्यपि जनसेवक बचत तथा ऋण सहकारी भने सुशासन, पारदर्शिता र वित्तीय अनुशासनका माध्यमबाट सबल र सक्षम संस्थाका रूपमा स्थापित हुँदै आएको उहाँले बताउनुभयो । बचतकर्ताको रकम सुरक्षित राख्न संस्था सफल भएको दावी गर्दै उहाँले आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
साधारण सभामा अध्यक्ष जनकराज पन्तले अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै संस्थाका कोषाध्यक्ष गोविन्द घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसै गरी लेखा सुपरीवेक्षक समिति संयोजक हरिबहादुर खड्काले लेखा सुपरिवेक्षक समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।
संस्थाको उपाध्यक्ष सीता दाहालको स्वागत तथा सचिव पुनहरी बेलबासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा शेयर सदस्य, प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij