२०८२, पौष १० गते

Dec 25 2025 | २०८२, पौष १० गते

औद्योगिक प्रदर्शनीमा एकै दिन ६० हजार अवलोकनकर्ता

बिहिवार , पौष १०, २०८२

  • 256
    Shares
  • 256
    Shares
  • बुटवल, १० पुस । रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै अवलोकनकर्ता प्रवेश गरेका छन् । 

    बिहीबार बिहानैदेखि प्रवेशद्वारामा अवलोकनकर्ताको घुँइचो लाग्न सुरु भएको थियो । दिनभर र साँझ अबेरसम्म प्रदर्शनीस्थलको गेटदेखि सबै स्टल तथा कार्यक्रमस्थलमा भरिभराउ देखिएको थियो । 

    पुस ३ गतेदेखि सुरु भएको प्रदर्शनी १७ गतेसम्म चल्ने भएकाले बिहीबार दोस्रो बिदाको दिन परेकाले पनि यति धेरै अवलोकनकर्ता आएको आंकलन आयोजकको छ । 

    संघका कोषाध्यक्ष विशाल वेल्वासेले बिहीबार एकैदिन ६० हजार अवलोकनकर्ता प्रदर्शनीस्थलमा प्रवेश गरेकाले सबै क्षेत्रमा व्यवस्थापनको चुनौती भएको बताउनुभयो । ३ गतेदेखि अहिलेसम्म यति धेरै अवलोकनकर्ता एकै दिन प्रवेश गर्नुभएको उहाँले जानकारी दिनुभयो ।

    प्रदर्शनी प्रबन्धक यादव भण्डारीका अनुसार बिहीबार दिनभर र साँझ अबेरसम्म टिकट काउण्टरदेखि स्टल लगायत कार्यक्रमस्थलमा सहभागीको व्यवस्थापन गर्न चुनौती भएको थियो । ‘एकैदिन धेरै अवलोकनकर्ता आउनुभयो, हिजोअस्तीको तुलनामा एकैपटक ठूलो संख्या भएकाले व्यवस्थापनमा समस्या भएको हो । तर, थप जनशक्ति व्यवस्थापन गरेर चलायौं, दिनभर र राती अबेरसम्म स्टलधनीहरुको पनि राम्रो कारोबार भयो, पर्यटन व्यवसायीहरुकहाँ त टेक्ने ठाउँ नै थिएन, अरु स्टलहरुमा पनि ठूलो संख्यामा सहभागी भएर समस्या भयो, बालउद्यानमा पनि उस्तै चापले समस्या देखियो । तर, पूर्वतयारीमा रहेकाले यसको व्यवस्थापन गर्न सकियो’ उहाँले भन्नुभयो । 

    सचिव मन्जु भुसालका अनुसार नियमित काउण्टरभन्दा बाहिर पनि बिहीबार दिनभरजसो अलग काउण्टर राखेर विक्रीको व्यवस्थापन गरिएको थियो। उहाँका अनुसार दिनभरजसो सबै काउण्टरमा थेगिनसक्नु भीड भएकाले अलग्गै ठाउँमा काउण्टर राखेर करिब ८ हजार टिकट विक्री भएको र नियमित काउण्टरहरुमा राती अबेरसम्म टिकट विक्री भएको थियो । 

    बुटवलमा जारी औद्योगिक प्रदर्शनीको पहिलो सातामा करिब एक लाख अवलोकनकर्ता पुगेका थिए भने ८ करोडको कारोबार भएको थियो । बिहीबार एकैदिन थपिएको ठूलो संख्याको अवलोकर्ता र विक्रीको आधिकारिक विवरण संकलन भइनसकेको भए पनि कारोबारको अंक पनि अहिलेसम्मको धेरै भएको संघका द्वितीय उपाध्यक्ष तथा स्टल व्यवस्थापन तथा अनुगमन समितिका संयोजक युवराज आचार्यले बताउनुभयो । यो प्रदर्शनीमा ंस्वदेशी उत्पादनहरुका स्टल मात्रै रहेका छन् ।

    संघका कोषाध्यक्ष विशाल वेलवासेले प्रदर्शनीको पहिलो सातामै करिब १ लाखभन्दा बढी अवलोकनकर्ता आएको र ८ करोड हाराहारीमा कारोबार भएको जानकारी दिनुभयो । पुसको पहिलो सातादेखि नै बुटवलमा हुस्सु तथा शीतलहर सुरु भए पनि त्यसको बाबजुत अवलोकनकर्ताको घुँइचो लागेको हो । बिहीबार दिनभर घाम लागेको र मौसमले पनि साथ दिएकाले अवलोकनकर्तालाई सहज भएको देखिएको थियो । 

    महासचिव सुमन बस्यालले प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदानप्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने, अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिरहेको जानकारी दिनुभयो ।

    ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको छ । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागीता छ । यी सबै स्वदेशी उद्योगहरु मात्रै रहेको अध्यक्ष कृष्ण प्रसाद पराजुलीले बताउनुभयो ।   

    स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन हुने प्रदर्शनीमा ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको प्रचारप्रसार संयोजक किरण खरेलले बताउनुभयो । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हाँस्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगिता लगायतका  प्रतियोगिताहरु समेटिएको साँस्कृतिक उपसमितिका संयोजक लालप्रसाद बस्यालले जानकारी दिनुभयो ।  

    प्रदर्शनीमा यसअघि कृषिमा विषादीको प्रभावका विषयमा विज्ञहरुबीच छलफल गराइएको छ । शुक्रबार पर्यटन क्षेत्रका विज्ञहरुसँग छलफल कार्यक्रम राखिएको गोष्ठी तथा सेमीनार उपसमिति संयोजक डिल्ली नारायण पाण्डेयले जानकारी दिनुभयो । बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम सारुले प्रदर्शनीको अवलोकन गर्नुभएको थियो ।