बिहिवार , पौष १०, २०८२
काठमाडौं, १० पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचनको कुनै सम्भावना नरहेको बताउनुभएको छ ।
पार्टीको ११ औँ महाधिवेशनका स्वयंमसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले नेताहरुमाथि प्रतिवन्ध, अखबारबाजी, सामाजिक सञ्जालबाट दुस्प्रचर र मिडिया ट्रायल गरेर समाजमा त्रासको वातावरण सिर्जना गरेको आरोप लगाउनु भयो ।
उहाँले प्रधानमन्त्रीसहित राष्ट्रपतिसँगको छलफलमा आफूले एमाले निर्वाचन विरोधी नभई प्रतिगमन विरोधी भएको कुरा राखेको समेत खुलाउनु भयो । अध्यक्ष ओलीले निर्वाचनको लागि वातावरण नबनेको कारण आफूहरु विघठित संसद पुनःस्थापनाको मुद्दामा अडिग रहेको समेत जिकिर गर्नुभयो । उहाँले पछिल्लो समय जेनजी काममा समाजमा भय र त्रास सिर्जना गर्ने काम गरिएको समेत टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रपतिजीको जोड चुनाव गराउनुपर्छ भन्नेमा थियो । हामीले यो यो अग्रमगमनको बाटो गएको छैन प्रतिगमतिर गएको छ भन्यौँ । असंवैधानिक ढंगले सरकार बनेको छ । तर पनि चुनाव विरोधी हामी होइनौँ । प्रतिगमविरोधी हौँ । चुनाव हुनु हुदैन भन्ने हाम्रो कुरा होइन । प्रतिगमन हुनुहुदैन भन्ने हाम्रो कुरा हो ।
सकेसम्म छिटो संसदको उपस्थिति चाहिन्छ । त्यसकारण हामीले विघटित संसद पुनःस्थापनको माग गरेका छौँ । छलफलमा यस विषयमा अदालतले जे फैसला गर्छ त्यसको कार्यान्वयन गर्ने कुरा भयो । राष्ट्रपति र प्रधानमन्त्री चुनाव गरौँ भन्दा हामीले नगरौँ भनेका छैनौँ । तर खै वातावरण बनेको ? वातवरण बन्ने लक्षण छैन, बनेको छैन ।
अहिले विभिन्न ठाउँमा आक्रमण हुने, कतै जान नदिने, नेताहरुमाथि प्रतिबन्ध, अनेक प्रकारका अखबारबाजी, सामाजिक सञ्जालबाट दुस्प्रचर र मिडिया ट्रायल गर्ने कुराहरु लगातार भइरहेको छ । र त्रास खडा गर्ने वातावरण बनेको छ । नवयुवाहरुको नाम बेचेर जेन–जीका नाममा केही छट्टु टाठाबाठाहरुले खाने गरेका छन् । त्यसकारण अहिले वातावरण बनेको छैन, बन्नेवाला पनि छैन र अहिले निर्वाचनको सम्भावना नै देखिदेन ।’
जेन–जीका नाममा नवयुवाहरुको नाम बेचेर केही छट्टु टाठाबाठाहरुले खाइरहेको टिप्पणी समेत गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij