२०८२, पौष ९ गते

Dec 24 2025 | २०८२, पौष ९ गते

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने खेलाडीलाई तिलोत्तमाको शुभकामनासहित बिदाई

बुधवार , पौष ९, २०८२

  • 256
    Shares
  • 256
    Shares
  • तिलोत्तमा, ९ पुस । यही पुस १४ र १५ गते (डिसेम्बर २९ र ३० तारिख) भारतको पुनेमा हुने १७ औं अन्तर्राष्ट्रिय खुल्ला कराते च्याम्पीयनसीप–२०८२ (प्रतियोगिता) मा सहभागी हुने नेपाली खेलाडीहरुलाई रुपन्देहीको तिलोत्तमामा सम्मान तथा बिदाई गरिएको छ ।

    जापान गोजुरियो कराते डा. मिसन संघ, नेपालको नेतृत्वमा नेपाली करातेको टीमले उक्त प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई बुधबार तिलोत्तमा नगरपालिकाले सफलताको शुभकामनासहित बिदाई गरेको हो ।

    सो अवसरमा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले खेलाडीहरुले पढाइसँगै आफ्नो परिवारको आर्थिक सामाजिक इज्जत र प्रतिष्ठा मात्रै नभएर राष्ट्रको समेत प्रतिष्ठामा योगदान गर्न सक्ने बताउनुभयो ।

    स्वागत सम्मान तथा बिदाई कार्यक्रममा नगर उपप्रमुख जगेश्वर देवी चौधरीले खेलाडीको हौसला बढाउन तिलोत्तमा नगरपालिकाले सक्दो योगदान गरेको बताउनुभयो । उहाँले खेलाडीको स्वास्थ्यका साथै राष्ट्रमा समेत खेलले ठुलो योगदान दिने बताउनुभयो । 

    संघका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक के.बि. राना (काजी) का अनुसार प्रतियोगितामा २२ जना खेलाडी, अफिसियल र सञ्चारकर्मीसहित २८ जनाको टोली भारत जानेछ । विगतका प्रतियोगितामा जस्तै यस वर्ष पनि नेपाली कराते खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी स्वर्ण पदक जितेर नेपालको नाम उचो बनाउने रानाले विश्वास व्यक्त गर्नुभयो । खेलाडीहरुलाई तिलोत्तमा नगरपालिकाका प्रमुख खाण र उपप्रमुख चौधरीले नेपालको झण्डा हस्तान्तरण गर्नुभएको छ । प्रतियोगितामा सहभागी हुने अधिकांश खेलाडी तिलोत्तमा नगरपालिकाका छन् ।

    संघका केन्द्रीय सचिव गिरी प्रसाद पुनले पुस ११ गते बिहीबार बिहान १० बजे बेलहिया नाकामा बिदाई कार्यक्रमपश्चात टोली भारत प्रस्थान गर्ने जानकारी दिनुभयो । संघका प्रमुख सल्लाहकार भरत बहादुर के.सी.ले जापान गोजुरियो कराते डा. मिसन संघ, नेपाल संघर्षमै हुर्किएको संस्था भएको बताउनुभयो । उहाँले मित्रराष्ट्र भारतमा हुने प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेर नेपालको नाम विश्वमै चिनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।