२०८२, पौष ८ गते

Dec 23 2025 | २०८२, पौष ८ गते

प्रधानमन्त्रीलाई काँग्रेसको जवाफ : तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ ?

मंगलवार , पौष ८, २०८२

  • 331
    Shares
  • 331
    Shares
  • काठमाडौं, ८ पुस । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले अन्तरिम सरकारसँगको १० बुँदे सम्झौता पक्षधर जेन–जीहरुले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै निर्वाचन हुनेमा आशंका रहेको बताउनुभएको छ । 

    मंगलवार नेपाली काँग्रेसको पार्टी कार्यालय निरीक्षण एवं वार्ताका लागि सानेपा पुगेको सरकारद्वारा गठित राजनीतिक वार्ता समितिसँगको छलफलमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

    जेन–जी अगुवा सुदन गुरुङले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा निर्वाचन हुन नदिने भन्नुभएको उल्लेख गर्नुहुँदै यसले सरकार निर्वाचन गराउन लागि परेको भन्नेमा आशंका उब्जाएको बताउनु भयो ।

    निषेधको राजनीति गरेर र निषेधको भावनाबाट निर्वाचन हुन नसक्ने उहाँको भनाइ छ । सरकार निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगबाट सम्पन्न गर्नतर्फ नलागेको आरोप लगाउनु भयो । पुराना वा नयाँ पार्टीको नाममा कुनैपनि पार्टीलाई यात्रामा रोकेर निर्वाचन सम्पन्न हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले कोही पनि मतदाताको मताधिकार नखोसियोस् भन्नेमा काँग्रेस दृढ रहेको बताउनु भयो ।  

    उहाँले भन्नुभयो, ‘कसैले कसैलाई निषेधको राजनीति गरेर, निषेधको भावनाबाट अग्रसर भएर निर्वाचन सुसम्पन्न हुन सक्दैन । कुनै प्रश्न नउठ्ने ढंगबाट नेपाल सरकार अघि बढ्नुपर्छ । कुनै कुना कन्तरामा आशंका उब्जिने गरी अघि बढ्न भएन ।

    सबै मिलेर गए निर्वाचन सम्पन्न हुन्छ । पुराना वा नयाँ पार्टीको नाममा कुनैपनि पार्टीलाई यात्रामा रोकेर निर्वाचन सम्पन्न हुँदैन । हामी विध्वंश र मतपत्र च्याताच्यात भएको देख्न चाहँदैनौँ । हामी प्रजातन्त्र र लोकतन्त्रवादी हौँ ।

    कसैको मताधिकार नखोसियोस् । मत हाल्ने अधिकारबाट वञ्चित नहोस् । अन्तरजिल्ला मतदानको कुरा छ, विदेशमा रहेकाहरुको मतदानको कुरा छ । चर्चाका लागि मात्रै कुरा नगरौँ । निर्वाचन फागुन २१ मा हुँदैछ भनिएको छ, यसलाई अर्जुनदृष्टिमा राख्नुपर्छ ।

    सबै राजनीतिक दलहरु उपस्थित हुने र त्सहभागी बन्ने स्थिति सिर्जना गर्नुपर्छ । १० बुँदे सम्भmौता गर्नेहरुले नै सम्झौताको मसी सुक्न नपाउँदै निर्वाचन हुन दिँदैनौँ भनिरहेका छन् । सम्झौता त यहाँहरुकै अघि च्यातिएको छ । के भइरहेको छ ।

    नच्यात्ने पक्षले चुनाव हुन दिन्नौँ भनिसके । त्यसप्रति कतिको गम्भीर हुनुहुन्छ, हामी ध्यानपूर्वक हेरिरहेका छौँ । यहाँहरुको प्रधानमन्त्रीले जसलाई जेठो छोरो भन्नुभयो, त्यही जेठो छोरोले चुनाव हुन दिन्नौँ भनेपछि हामीले के भन्नु ? हाम्रो के लाग्छ । केही न केही त छ । आशंका झन बलियो बनायो ।’

    उपसभापति गुरुङले नेपाली काँग्रेस निर्वाचनबाट नभाग्ने बताउनु भयो । उहाँले सरकारले निर्वाचनको वातावरण निर्माण गर्न अझै नसकेको जिकिर गर्नुभयो । उहाँले निर्वाचनका लागि शान्ति सुरक्षा पहिलो शर्त रहेको उल्लेख गर्नुहुँदै सरकारले भयमुक्त वातावरण बनाउन नसकेको बताउनु भयो ।