सोमवार , पौष ७, २०८२
बुटवल, ७ पुस । शिक्षाको गुणस्तर अभिवृद्धि र विद्यार्थीहरूको चौतर्फी विकास गर्ने उद्देश्यले नेशनल प्याब्सन रूपन्देहीको आयोजनामा अन्तरविद्यालय निबन्धलेखन तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्लाका विभिन्न १४ वटा विद्यालयहरुको सहभागीता रहेको सो प्रतियोगिताको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका प्रमुख विष्णु प्रसाद पन्थीले यसप्रकारका प्रतियोगिताले विद्यार्थीहरूको समग्र बौद्धिक विकासका टेवा पुर्याउने बताउनुभयो । विद्यार्थीहरुको क्षमता र दक्षता अभिवृद्धिका लागि यस्ता अतिरिक्त क्रियाकलापहरू अपरिहार्य रहेको उहाँले बताउनुभयो । ईकाइ प्रमुख पन्थीले किताबी ज्ञानले मात्र विद्यार्थी पूर्ण नहुने हुँदा यस्ता प्रतियोगिताले विद्यार्थीको आत्मविश्वास बढाउन र लुकेका प्रतिभा प्रस्फुटन गर्न ठूलो मद्दत पुर्याउने बताउनुभयो ।
नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडेले नेशनल प्याब्सन सधै विद्यार्थीको वृत्ति विकास र गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध रहेको बताउनुभयो । आफूहरुले केवल शिक्षा मात्र दिने काम नगरी विद्यार्थीलाई प्रतिष्पर्धात्मक विश्वमा खरो उत्रन सक्ने बनाउन यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको उल्लेख गर्नुभयो । उहाँले विद्यार्थीहरुलाई लाभ हुने कार्यक्रमलाई निरन्तरता दिदै जाने बताउनुभयो ।
हाजिरीजवाफ प्रतियोगितामा देवदह बोर्डिङ्ग स्कूल प्रथम, नमुना एभरग्रिन बोर्डिङ्ग स्कुल द्वितीय, स्कलर्स होम तृतीय र ग्लोरी बोर्डिङ्ग स्कूलले सान्त्वना पुरस्कार हासिल गरेका छन् ।
त्यस्तै निबन्धलेखन प्रतियोगितामा एचिभर्स मा.वि. प्रथम, सिद्धार्थ ग्यालेक्सी स्कुल द्वितीय, सेन्ट जोसेफ इङ्लिस बोर्डिङ्ग स्कुल तृतीय र स्कलर्स होम सान्त्वना पुरस्कार हात पार्न सफल भएका छन् ।
प्रतियोगितामा उत्कृष्ट विद्यालय तथा विद्यार्थीहरूलाई शिल्ड, नगद र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय उपमहासचिव विष्णु प्रसाद पौडेल, केन्द्रिय सल्लाहकार राजु गुरुङ, रुपन्देहीका पूर्वअध्यक्ष बिल प्रसाद गुरुङ, सचिव कमल पौडेल, कोषाध्यक्ष शंकर प्रसाद गौतम र वरिष्ठ पत्रकार हरिष ढकाल लगायतले विद्यालयहरुले शैक्षिक गतिविधिका साथै अतिरिक्त क्रियाकलापलाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।
हाजिरीजवाफ प्रतियोगिताको सहजीकरण डा.आविष्कार पराजुलीले गर्नुभएको थियो भने निबन्धलेखनको निर्णायक प्राध्यापक कृष्ण प्रसाद पाण्डेले रहनुभएको थियो ।
शंकर प्रसाद गौतमको स्वागत तथा नेशनल प्याब्सन रूपन्देहीका सचिव अमित यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij