२०८२, पौष ६ गते

Dec 21 2025 | २०८२, पौष ६ गते

बुटवल औद्योगिक प्रदर्शनी : शनिबार थेगिनसक्नु भिड

शनिवार , पौष ५, २०८२

  • 256
    Shares
  • 256
    Shares
  • बुटवल, ५ पुस । रुपन्देहीको बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ मा शनिबार पहिलो बिदाको दिन अवलोकलन कर्ताको भीड थेगिनसक्नु भयो । 

    बुटवलको प्रदर्शनीको पहिलो बिदाको दिन र बिहानैदेखि बढेको चिसोमा अवलोकनकर्तालाई राष्ट्रिय कलाकारहरु अर्जुन सापकोटा, पूर्णकला बिसी, रमेशराज भट्टराईलगायतका कलाकारले भरपूर मनोरञ्जन दिएको साँस्कृतिक उपसमितिका संयोजक लालप्रसाद बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनीमा पहिलो बिदाको दिन परेकाले र चर्चित कलाकार आएकाले पनि शनिबार अवलोकनकर्ताको भीड बढेको हो । 

    55.jpeg

    आइतबार हेमन्त शर्मा, भूमिका गिरी लगायतका कलाकार आउने बस्यालले जानकारी दिनुभयो । गेट टिकट उपसमितिका संयोजक राजु घिमिरेले शनिबार अहिलेसम्मकै धेरै अवलोकनकर्ताको भीड भएको बताउनुभयो । 

    शनिबार भारतको उत्तर प्रदेशस्थित गिडा औद्योगिक क्षेत्रका उद्योगीहरु प्रदर्शनीको अवलोकनका लागि आएको प्रचारप्रसार संयोजक ई. किरण खरेलले जानकारी दिनुभयो । रुपन्देही उद्योग संघले प्रदर्शनीको तयारीका क्रममा भारतमा पुगेर यसको अवलोकनका लागि आमन्त्रण गरेको थियो । 

    शनिबार प्रदर्शनीस्थलमा नेपाल पत्रकार महासंघ रुपन्देहीले राखेको फोटो प्रदर्शनीसहित स्वदेशी उद्योगहरुको प्रदर्शनी हेर्न प्रेस काउन्सिल नेपालमा अध्यक्ष डा. कुमार शर्मा आचार्य, सदस्य सन्तराम बिडारी, सह–प्रशासकीय अधिकृत रामशरण बोहोरा आउनुभएको थियो । डा. आचार्यले प्रदर्शनीमा राखिएका फोटाहरुले पत्रकारिताको इतिहास मात्रै नभएर यस क्षेत्रको पुरानो अवस्था झल्काएको बताउँदै यसलाई अझै व्यवस्थित बनाएर जानपर्ने बताउनुभयो ।  

    रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ बिहीवारदेखि बुटवलमा  सुरु भएको प्रदर्शनीको उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गर्नुभएको थियो ।

    बुटवल मण्डपमा निमार्णाधीन अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना भएको प्रदर्शनीमा विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको छ । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेको छ । यी सबै स्वदेशी उद्योगहरु मात्रै रहेको अध्यक्ष कृष्ण प्रसाद पराजुलीले जानकारी दिनुभयो । 

    स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन हुने प्रदर्शनीमा ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको प्रर्दशनी प्रबन्धक यादव भण्डारीले जानकारी दिनुभयो । 

    प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हाँस्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगिता लगायतका प्रतियोगिताहरु रहेको महासचिव सुमन बस्यालले बताउनुभयो । 

    प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिष्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदानप्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने, अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिने कोषाध्यक्ष विशाल बेल्बासेको भनाइ छ ।