२०८२, पौष २ गते

Dec 17 2025 | २०८२, पौष २ गते

महाधिवेशन स्थल भृकुटीमण्डपमा बिहानैदेखि चहलपहल

बुधवार , पौष २, २०८२

  • 232
    Shares
  • 232
    Shares
  • काठमाडौं, २ पुस । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन आज बिहानैदेखि महाधिवेशन स्थल भृकुटीमण्डपमा चहलपहल बढेको छ । 

    नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया शुरु हुन लागेकाले नेता तथा कार्यकर्ताहरूको उपस्थिति बाक्लो देखिएको हो । प्राविधिक तथा मौसमी कारणले मंगलवार साँझसम्म धकेलिएको मतदान बुधवार बिहान ८ बजेदेखि शुरु हुनेगरी सारिएको थियो ।

    महाधिवेशन प्रतिनिधिहरू लामो लाइनमा लागेर विद्युतीय मतदान मेसिनमार्फत आफ्नो मताधिकार प्रयोग गर्न तयार भएका छन् । देशभरबाट आएका २ हजार २६३ जना प्रतिनिधिले अध्यक्षदेखि केन्द्रिय सदस्यसम्मका पदहरूका लागि मत हाल्नेछन् । अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच मुख्य प्रतिष्पर्धा हुनेछ ।

    दुवै पक्षले आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएकाले मतदान स्थल वरपर समर्थकहरूको नारा र भोट माग्ने क्रियाकलापले चुनावी माहोल तातेको छ । विद्युतीय भोटिङ मेसिनको प्रयोगले मतदान प्रक्रिया छिटो हुने अपेक्षा गरिए पनि उम्मेदवारहरूको लामो सूचिका कारण केही समय लाग्ने अनुमान छ ।

    मतदान सकिएलगत्तै मतगणना शुरु हुने र परिणाम छिट्टै सार्वजनिक हुने पार्टी स्रोतले बताएको छ । महाधिवेशनले पार्टीको संगठन सुदृढीकरण र भावी रणनीतिलाई केन्द्रमा राखेर नयाँ नेतृत्व चयन गर्दैछ । यस महाधिवेशनलाई पार्टीले निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पका रूपमा लिएको छ ।