बुधवार , पौष २, २०८२
पाल्पा, २ पुस । चुरे क्षेत्रमा रहेका सामुदायिक वन, वन्यजन्तुको अवस्था र सुशासनसम्बन्धि वडास्तरीय छलफल कार्यक्रमको शुभारम्भ मंगलबारदेखि तिनाउ गाउँपालिकाको वडा नम्बर १ स्थित कचलबाट भएको छ ।
सो वडामा रहेका १४ वटा सामुदायिक वनका पदाधिकारीहरुको सहभागीतामा सञ्चालित उक्त कार्यक्रमको प्रमुख अतिथि सव डिभिजन वन कार्यालय, तिनाउ, पाल्पाका वरिष्ठ अधिकृत प्रेमबहादुर चौधरीले सामुदायिक वन समूहहरुमा वर्तमानमा देखापरेका समस्या, समाधानका उपायहरु र समूह तथा वन कार्यालयबीचको समन्वय, सहकार्य एवम् सहयात्राका सन्दर्भमा प्रकाश पार्नुभएको थियो । उहाँले वन ऐन, कानून र नियमावलीलाई मानेर समूहहरुले आफ्ना गतिविधिहरुलाई अघि बढाउन सुझाउनुभयो।
लुम्बिनी पर्यटन परिषदका सदस्य तथा बुटवल फूलबारीका अध्यक्ष माधव नेपालले एक वन एक उद्यम र वनमार्फत् पर्यापर्यटनको विकास सम्भव रहेको औल्याउनुभयो । उहाँले वनको धनी कचलले आफ्नो संस्कृति र प्रकृतिलाई जोगाउँदै गाउँमा आन्तरिक एवं बाह्य पर्यटकहरु भित्र्याउन पर्यटकीय स्थलहरुको निर्माण, विकास र प्रचारमा जोड दिनुपर्ने बताउनुभयो ।
त्यसै गरी वडाध्यक्ष भुवानसिं चिदीले आफ्नो वडाभित्र रहेका सामुदायिक वनहरुको सुशासनमा आफ्नो चासो रहेको बताउनुभयो । उहाँले वडाको विकासमा सामुदायिक वनसँग आफूहरु हातेमालो गर्न तयार रहेको बताउनुभयो ।
सामुदायिक वन समन्वय समिति, तिनाउका अध्यक्ष दलबहादुर गुरुङले सामुदायिक वन र चुरेको इतिहास, उपभोक्ता समूह गठन एवं समुदायमा हस्तान्तरणको अवस्था, समूहमा देखापरेका वर्तमान समस्या, कारण र समाधानका लागि सरोकारवालाहरुको भूमिका विषयमा प्रष्ट्याउनुभयो । उहाँले डढेलोको कारण वन, जडीबुटी र वन्यजन्तुको क्षति हुने भएकाले वनलाई डढेलोबाट जोगाउन समूहहरुको दायित्व र जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।
संस्थाका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेयले छलफल कार्यक्रमको उद्देश्य, औचित्य र समूहको भूमिका बताउँदै सहभागीहरुलाई स्वागत गर्नुभयो । उहाँले वन समूहहरुमा सुशासन र गतिशीलता आवश्यक रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा सहभागी उपभोक्ता समूहका तर्फबाट खेमबहादुर बुचा, रोमबहादुर लम्तरी, सीताराम सोमरे, तेजकुमारी तरामी, गीता रानालगायतले आआफ्ना वन समूहहरुले गरेका उन्नति, प्रगति बताउँदै वनमा देखा परेका समस्याहरुका सन्दर्भमा जिज्ञासा राख्नुभएको थियो ।
संस्थाका महासचिव गणेश रास्कोटीको सञ्चालन र अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षतामा पहिलो दिनको कार्यक्रम सम्पन्न भएको थियो । छलफल कार्यक्रम तिनाउ गाउँपालिकाका ६ वटै वडाका ८१ वटा सामुदायिक वन उपभोक्ता समूहहरु, वडाध्यक्षहरु र सरोकारवालाकाबीच पुस ७ गतेसम्म सञ्चालन हुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij